काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको कुनै पनि कार्यकारी पदमा लगातार दुई पटकभन्दा बढी निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ । प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधान अनुसार पार्टीमा नेतृत्वको एकाधिकार तोड्न र पुस्तान्तरणलाई स्वाभाविक प्रक्रिया बनाउन, पार्टीको कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लगातार दुई कार्यकाल भन्दा बढी निर्वाचित वा मनोनीत हुन बन्देज लगाएको हो ।
विधानमा भनिएको छ- ‘एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी निर्वाचित वा मनोनीत हुन पाउने छैन । यस प्रकारको कार्यकालको गणना पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न भएपछि मात्र प्रारम्भ हुनेछ ।’
यसैगरी पार्टीको तर्फबाट निर्वाचित कुनै पनि जनप्रतिनिधि वा पार्टीको कार्यकारी पदमा रहेको व्यक्तिले पदीय दायित्व पूरा नगरेमा निजको कार्यकाल सकिनु अगावै फिर्ता बोलाउने व्यवस्था राखिएको छ । सम्बन्धित मतदाता वा पार्टी सदस्यहरूले विधानमा तोकिएको प्रक्रिया पूरा गरी पदबाट फिर्ता बोलाउन सक्ने व्यवस्था विधानमा राखिएको छ

















