२२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवादबारेको अभिव्यक्तिमाथि प्रश्न उठेको ३९ दिन पुग्यो । तर, अझैसम्म पनि आफ्नो अभिव्यक्तिउपर उठेको प्रश्नको जवाफ संसद्मै दिन तयार भएका छैनन् ।
गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’
प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।
नेकपा एमालेका सांसद राजेन्द्र राईले यो विषयमा सरकार गम्भीर हुनैपर्ने बताउँछन् ।
‘महिना दिन बढी भयो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले यही रोष्ट्रममा विचार व्यक्त गरेको । त्यो कुरामा हाम्रो असहमति भयो भनेर हामी प्रतिपक्षीहरूले एउटै स्पिच, एउटै टोन र एउटै स्वरमा कुरा राख्दै आएका छौं’ राईले बुधबार प्रतिनिधिसभाको बैठकमा भने ।
उनले प्रतिनिधिसभा नियमावली आफूले अध्ययन गरेको र अरुले पनि अध्ययन गर्न आवश्यक रहेको बताए ।
प्रतिनिधिसभा नियमावली नियम १५ को उपनियम (२) मा संसद्मा शून्य र विशेष समयमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था छ ।
तर, आफ्नो अभिव्यक्तिमा सांसदहरूले जवाफ माग गर्दा प्रधानमन्त्री बालेन ३९ दिनसम्म पनि तयार नभएका हुन् ।
नियमावली अनुसार प्रधानमन्त्री जवाफमा लागि तयार नभएको भन्दै विपक्षी दलहरूले सभामुखलाई रुलिङ गर्न आग्रह गर्दै आएका छन् । सभामुख पनि रुलिङ गर्न तयार भएका छैनन् ।
‘सभामुख महोदय सँधैभरी हामीले आन्दोलन गरिराख्ने हो ? हामी उठिराख्नुपर्ने हो ? कहिलेसम्म उठ्नुपर्ने हो ?’ राईले प्रश्न गरे, ‘यस्तो इतिहास मैले सदनमा कहिल्यै देखेको थिइनँ।’
सांसद राई अगाडि नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार बोलेकी थिइन् ।
उनले भारत सँगको सीमा समस्या देशको सार्वभौमिकतासँग जोडिएको अत्यन्तै संवेदनशील विषय भएको भन्दै भनिन्, ‘प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सार्वजनिक भएकै दिनदेखि विपक्षी दलहरुले यो सदनमा लगातार जवाफ मागिरहेका छन् विपक्षीले हप्तौदेखि ढोका ढकढकाउँदा पनि प्रधानमन्त्रीज्यु संसद्लाई ब्लक गरेर बस्नु भएको छ ।’
संसद्लाई महत्व दिन उनले आग्रह गरिन् । ‘प्रधानमन्त्री ज्यु यो सार्वभौम संसद हो । कुनै सामाजिक संजालको कमेन्ट बक्स होइन जहाँ आफुलाई मन लागेका कमेन्ट र प्रश्नलाई डिलिट गर्न पाइयोस्’, गच्छदारले भनेकी छन्, ‘प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरू सीमा पारिको चर्को दबाब र मानसिक त्रास झेल्न बाध्य छन् ।’
कांग्रेसकी सांसद गच्छदारले पनि जवाफका लागि उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्नेपर्ने माग राखिन्, ‘हजुरले रुलिङ गर्नु पर्यो सभामुख महोदय ।’

















