३१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले विभिन्न कानूनी सुधारको काम आगामी तीन महिनाभित्र गर्नेगरी कामलाई तीव्रता दिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा, अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले लगानीकर्ताको आत्मबल बढाउने योजनासहित बोर्डले काम गरिरहेको बताए । विगतमा कमीकमजोरी देखिएका कानुनको सुधार गर्दै प्रिआईपीओ, आईपीओ निष्कासनमा उठ्ने गरेका प्रश्न पूर्ण निर्मुल गरी सुशासनका लागि शून्य सहनशिलता अपनाइने बताए ।
‘हामीले तीन महिनाको समयमा नियम कानुन बनाउने भनेका छौं,’ उनले भने, ‘हाम्रो तर्फबाट गर्नुपर्ने काम पूरा गर्छाँै, बाँकी कतिपय काम नेप्से, ब्रोकर, अर्थ मन्त्रालयलगायतसँग समन्वयमा गर्नुपर्छ, त्यसमा हाम्रो जिम्मेवारीको काम यो समयमा गर्छौं ।’
उनले लगानीकर्तालाई शिक्षित बनाउने विषयलाई अब देशव्यापी बनाइने बताए । ‘लगानीकर्ताको शिक्षालाई विविधिकरण गर्ने योजना छ’ उनी भन्छन्, ‘किनकि यो जोखिम लिनुपर्ने क्षेत्र हो, लगानीकर्तामा अनुभव भएमात्र लगानी गर्न सहज हुन्छ ।’
बोर्डलाई प्रविधिमैत्री बनाउने सन्दर्भमा भने आफ्नै भवन र जग्गा समेत नभएका कारण ठूलो लगानी गर्न तत्काल सम्भव नभएको उनले बताए । आगामी आवमा भवन र जग्गा आफ्नो गराउने सम्बन्धमा काम गर्ने उनले जानकारी दिए ।
लगानीकर्ताको आत्मविश्वास बढाउने सन्दर्भमा भने काम थालिसकेको उनले बताए । मंगलबार मात्र लगानीकर्ताको एक समूहसँग सहमति गरिएको उनले बताए । ब्रोकर लगायत बोर्डले नियमन गर्ने सम्बन्धमा भएका कमी कमजोरी सुधार गर्दै अनुगमन र नियमनमा कडाइका साथ प्रस्तुत हुने उनको भनाइ छ ।

















