काठमाडौं, साउन ३१ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैली र नीतिका कारण युवामा जागेको आशा निराशामा परिणत हुँदै गएको आरोप लगाएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गीता गुरुङले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने अपेक्षासहित प्रधानमन्त्रीप्रति युवाले ठूलो विश्वास राखे पनि सरकारको कार्यसम्पादनले त्यो विश्वास कमजोर बन्दै गएको बताइन्।
“देशभरका युवाले तपाईंप्रति ठूलो आशा राखेका थिए, तर आज त्यो आशा विस्तारै निराशामा बदलिँदै गएको छ,” उनले भनिन्।
सांसद गुरुङले प्रधानमन्त्रीको “सरप्राइज” शैलीको निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाइन्। लोकतान्त्रिक शासन प्रणाली कानुनको शासन, पारदर्शिता र पूर्वानुमानयोग्य (Predictable) निर्णय प्रक्रियामा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले राज्य सञ्चालनलाई “जन्मदिनको पार्टी” जस्तो सरप्राइजमा आधारित बनाउन नहुने धारणा राखिन्। यस्तो कार्यशैलीले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनको शासनमाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो।
उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै आर्थिक मन्दी, सेयर बजारको निरन्तर गिरावट, बढ्दो महँगी तथा रोजगारीको खोजीमा विदेशिने युवाको बढ्दो सङ्ख्याले वर्तमान अवस्थाको वास्तविक चित्र प्रस्तुत गरिरहेको बताइन्।
सांसद गुरुङले जेन्जी अभियन्ता माजिद अन्सारी र सरिश्मा थापा लगायतका युवामाथि राज्यले दमन गरेको आरोप लगाउँदै स्वतन्त्र प्रेस र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गरिन्। सरकारले “भिजिलान्ते शैली” अपनाएको आरोपसमेत उनले लगाइन्।
प्रधानमन्त्रीलाई देश निर्माणमा केन्द्रित हुन आग्रह गर्दै गुरुङले संसद्प्रति उत्तरदायी बन्न र युवाको विश्वास पुनः जित्न सरकारलाई आग्रह गरिन्। अन्यथा भविष्यमा सरकारलाई थप चुनौती सामना गर्नुपर्ने चेतावनी पनि उनले दिइन्।

















