काठमाडौं, ३ साउन — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बाल सुधार गृहलाई केवल बन्दी राख्ने स्थानका रूपमा नभई बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्ति र पारिवारिक वातावरणसहितको सुधार केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै उनले सुधार गृहको व्यवस्थापन, सुरक्षा र बालबालिकाको पुनर्स्थापनासम्बन्धी विभिन्न सुझाव प्रस्तुत गरिन्।
सांसद लामाले सुधार गृहमा खटिने कर्मचारी तथा अभिभावक बाल मनोविज्ञान बुझ्ने, शारीरिक तथा मानसिक रूपमा सक्षम र जिम्मेवारी निर्वाह गर्न योग्य हुनुपर्ने बताइन्। गम्भीर कसुरमा संलग्न बालबालिकासँग काम गर्न विशेष क्षमता र संवेदनशीलता आवश्यक पर्ने उनको भनाइ थियो।
सुधार गृहभित्र कायम रहेको ‘नाइके प्रथा’प्रति आपत्ति जनाउँदै उनले यस्तो व्यवस्थाले शक्ति दुरुपयोग, हिंसा र डरको वातावरण सिर्जना गर्ने जोखिम बढाएको बताइन्। सुरक्षा तथा अनुशासन कायम गर्ने जिम्मेवारी प्रशिक्षित सुरक्षाकर्मी र आधिकारिक कर्मचारीले नै लिनुपर्नेमा उनले जोड दिइन्।
बालबालिकालाई अनुशासित र नैतिकवान बनाउन ध्यान (मेडिटेसन) तथा उनीहरूको धार्मिक आस्थाअनुसार प्रार्थना वा प्रवचनको व्यवस्था गर्नुपर्ने सुझाव पनि उनले दिइन्। यस्ता गतिविधिले उनीहरूमा आत्मअनुशासन र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने उनको विश्वास थियो।
सुधार गृहमा उपलब्ध गराइने सुविधा देशको आर्थिक अवस्था र बाहिर रहेका अन्य बालबालिकाले पाउने सुविधासँग सन्तुलित हुने गरी निर्धारण गर्नुपर्ने उनको धारणा थियो।
त्यस्तै, १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई राज्यको नीतिअनुसार आवश्यक परे अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने र यस विषयमा राज्य स्पष्ट तथा प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उनले बताइन्।

















