काठमाडौँ — अविरल वर्षासँगै बढेको बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा अर्को सूचना नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन पाइने छैन। त्यसैगरी, मकवानपुरस्थित कानन्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारीसाधन आवागमनमा रोक लगाइएको छ।
अन्य अवरुद्ध सडकहरू:
निरन्तरको वर्षा र पहिरोका कारण देशका अन्य प्रमुख सडकखण्डहरू पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्:
मेची राजमार्ग: इलाम नगरपालिका–९ राजदुवालीस्थित सडक हिलाम्मे भएर बन्द।
अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (जिरोकिलो) र वडा नं २ (कोदारी) मा पहिरो खसेपछि अवरुद्ध।
कालीगण्डकी करिडोर: बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर (राजदुवाली) मा अवरुद्ध।
राँके–रवि–भेडेटार सडक: पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेमा बन्द।
आरुघाट–माछिखोला सडक: गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा पहिरोका कारण अवरुद्ध।
यसैबीच, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा समेत आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारण तथा चालकहरूलाई विशेष आग्रह गरेको छ।















