१४ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ ।
मन्त्रालयमा बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । साथै, काम कम्पनी भित्र (इनडोर) वा कम्पनी बाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने स्पष्ट खुलाउनुपर्ने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
यदि दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भए दुवैको कार्य समय समेत उल्लेख गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ । मन्त्रीस्तरीय निर्णय भएको र उक्त निर्णय परराष्ट्र मन्त्रालयमार्फत दूतावास तथा नियोगहरूमा पठाइने प्रवक्ता घिमिरेले बताए ।
हालसम्म कामको शीर्षक मात्र उल्लेख भएपनि माग प्रमाणीकरण हुने व्यवस्था थियो । अब भने विस्तृत कार्य विवरण अनिवार्य गरिएको हो । गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा–सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्षहरू वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ ।
मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकमाथि हुन सक्ने शोषण तथा ठगी न्यूनीकरण गर्न, श्रमिकको सेवा–सर्तको सुरक्षा सुनिश्चित गर्न तथा विदेश पठाउने प्रक्रियालाई थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

















