विज्ञापन

हिजो सुस्तामा के भयो ? अहिलेको अवस्था के छ ?

विज्ञापन
Image
विज्ञापन

१८ साउन, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा अस्थायी बाँध निर्माणका क्रममा फेरि नेपाल–भारत सीमा विवाद सतहमा आएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी र स्थानीयवासीबीच तनाव उत्पन्न भएपछि सशस्त्र प्रहरी बल नेपालले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ । गृह मन्त्रालयले भने अहिले अवस्था सामान्य रहेको जनाएको छ ।

सुस्ता क्षेत्र नेपाल–भारतबीच हालसम्म औपचारिक रूपमा सिमाङ्कन नभएको संवेदनशील क्षेत्र हो । दुवै देशबीच सीमा टुंगो नलाग्दासम्म उक्त क्षेत्रलाई ’स्टाटस–को’ (यथास्थिति) मा राख्ने सहमति छ। यही कारण दुवै पक्षले केही भूभागमा आ–आफ्नो दाबी गर्दै आएका छन् ।

साउन १५ गते बिहान १०:४० बजे नारायणी नदीको बाँध क्षेत्रमा भारतीय पक्षले ‘स्टाटस–को’ मानेको भेलरको रुखदेखि पुरानो बाँधतर्फ पर्ने नेपालतर्फको जमिनमा करिब २०० स्थानीय बासिन्दा भेला भएका थिए । नदीको बहाव बढेमा बाढी आउन सक्ने जोखिम देखाउँदै उनीहरूले कोदालो र फरुवा प्रयोग गरी अस्थायी बाँध निर्माणका लागि खन्ने काम सुरु गरेका थिए ।

उही दिन दिउँसो १२:३० बजे स्थानीयले जेसीबी प्रयोग गरी नजिकैको माटो खनेर अस्थायी बाँध निर्माण गरिरहेका बेला सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण मुख्यालय, पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीको नेतृत्वमा पुगेको टोलीले स्थानीयसँग छलफल गरी सम्झाइबुझाइ गरेको थियो ।

सोही क्रममा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला बगाहास्थित भारतीय सशस्त्र सीमा बल (एसएसबी) को २१औँ बटालियनका निमित्त कमान्डेन्ट सुरेश शर्माको नेतृत्वमा आएको टोलीले पनि दुवै देशबीच भएको ‘स्टाटस–को’ कायम रहने गरी नेपालतर्फ भइरहेको काममा अवरोध नगर्ने जानकारी गराएको थियो ।

त्यसपछि भेलरको रुखबाट पश्चिमतर्फ नेपालतर्फ करिब २५ मिटर जमिन खाली राखेर अस्थायी बाँध निर्माणको काम अघि बढाइएको थियो । यसबीच भारतीय टोली फर्किएपछि स्थानीयले भारतीय पक्षले ‘स्टाटस–को’ मानेको भेलरको रुख नजिक ५–६ ट्याक्टर माटो थुपारेका थिए ।

त्यही विषयलाई लिएर साउन १७ गते दिउँसो ३:४५ बजे सशस्त्र प्रहरी बलको बीओपी सुस्ताका सशस्त्र प्रहरी निरीक्षक बसन्त पण्डितको नेतृत्वको टोली तथा स्थानीय अगुवा सिद्ध साधुसहित सात जना स्थानीयको उपस्थितिमा उक्त माटो सम्याउने काम गरिएको थियो । स्थानीयका अनुसार टोली अपराह्न ४:२० बजे त्यहाँबाट फर्किएको थियो ।

तर त्यसको केही समयपछि भारतीय एसएसबी का करिब १५ जना सुरक्षाकर्मी सिभिल पोसाकमा आएर भारतीय पक्षले ‘स्टाटस–को’ मानेको भेलरको रुख नजिक रहेको माटो पुन: सम्याउन लागेको भन्ने खबर फैलिएको थियो ।

यो खबरपछि सुस्ता गाउँका करिब २५० स्थानीय घटनास्थलमा पुगेर विरोध जनाएका थिए । स्थानीयबाट सूचना पाएलगत्तै बीओपी सुस्ताबाट सशस्त्र प्रहरी निरीक्षक बसन्त पण्डितको टोली घटनास्थलमा पुगेर भारतीय टोलीलाई तत्कालै फर्काएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हाल सुस्ताको अवस्था पूर्ण रूपमा सामान्य रहेको बताएका छन् । उनका अनुसार स्थानीय तहमा सशस्त्र प्रहरीमार्फत भारतीय समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत भारतीय जिल्ला प्रशासनसँग पनि आवश्यक संवाद भइरहेको छ । सो घटनाबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइसकिएको छ ।

नारायणी नदीको धार परिवर्तनसँगै वर्षौंदेखि संवेदनशील बनेको सुस्ता क्षेत्र नेपाल–भारत सीमा विवादको प्रमुख केन्द्रमध्ये एक हो । सीमा विवादका कारण यस्ता घटना बेलाबेलामा दोहोरिने गरेका छन् । यसपटक पनि स्थानीयको बाढीबाट जोगिन अस्थायी बाँध निर्माण गर्ने प्रयाससँगै सीमा संवेदनशीलता जोडिँदा केही समय तनाव सिर्जना भए पनि दुवै देशका सुरक्षा निकायबीचको समन्वयका कारण अवस्था सामान्य बनेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन