बुटवल–१५, ढवाहामा अवस्थित वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले रुपन्देहीको सैँनामैना–१ स्थित प्रसिद्ध धार्मिक स्थल श्री पर्रोहा परमेश्वर बोलबम धाम मन्दिर परिसरमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन्। कलेजमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले साउन महिनाको अन्तिम सोमबारका दिन उक्त सामाजिक कार्य सम्पन्न गरेका हुन्।
विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप, सामाजिक उत्तरदायित्व तथा समुदायप्रतिको सकारात्मक सोच विकास गराउने उद्देश्यले यस्ता सिर्जनात्मक एवं सामाजिक कार्यलाई कलेजले निरन्तर प्राथमिकता दिँदै आएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले बताउनुभयो। उहाँका अनुसार साउन महिनाका प्रत्येक सोमबार पनि विद्यार्थीहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको सरसफाइसँगै तीर्थालु सेवा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
यस्ता गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सामाजिक सहभागितालाई थप सशक्त बनाउने विश्वास प्राचार्य शर्माले व्यक्त गर्नुभयो।
साउनको अन्तिम सोमबारको पावन अवसरमा मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्थीहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको तथा समाज रूपान्तरणका लागि विद्यार्थीहरूमा सेवाभाव एवं नैतिक मूल्य–मान्यताको विकास आवश्यक रहेको भन्दै कलेजले आगामी दिनमा पनि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।
यसैबीच, कलेजले स्नातक तहमा ४ वर्षे BIT तथा BHM र स्नातकोत्तर तहमा २ वर्षे MBA कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएको छ। साथै, वर्ष २०८३ का लागि नयाँ भर्ना समेत खुला गरिएको कलेजले जनाएको छ।















