विज्ञापन

दोस्रो पटक कप्तानको जिम्मेवारी पाएका सन्दीपसामु संकटमा रहेको ओडीआई मान्यता

विज्ञापन
Image
विज्ञापन

२६ साउन, काठमाडौं । लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता संकटमा छ । अबका केही खेलमा सम्हालिन नसक्ने हो भने नेपालले ८ वर्षअघि हासिल गरेको ओडीआई मान्यता गुमाउने छ ।

यही संकटग्रस्त परिस्थितिमा नेपाली क्रिकेट सम्हाल्ने जिम्मेवारी सन्दीप लामिछानेको काँधमा आइपुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाएर सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी प्रदान गरेको हो । लेग स्पिनर सन्दीपले अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्ने छन् ।

सन्दीप ४ वर्षपछि पुन: कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । उनले २०७८ मै राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । तर बलात्कार मुद्दाले एक वर्ष नहुँदै उनको कप्तानी खोसिदिएको थियो । ४ वर्षपछि क्यानले सन्दीपलाई पुन: राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।

आईसीसी विश्वकप लिग–२ साइकल अन्तर्गतको अन्तिम सिरिज पनि नेपालले सन्दीपकै कप्तानीमा खेल्नेछ । लगातार पराजित हुँदा ८ टोली सहभागी लिग–२ साइकलमा नेपाल सातौं स्थानमा छ ।

यो सिरिजमा नेपालले ३२ मध्ये ११ खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्समा भएको पछिल्लो सिरिजमा नेपालले चार वटै खेल गुमाएको थियो । विदेशी भूमिमा भएको पछिल्ला ८ खेलमा नेपालले जित निकाल्न सकेको छैन ।

शीर्ष चारमा रहँदै सिधै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना त करिब सकिएको छ नै, ओडीआई मान्यतासमेत गुमाउने हो कि भन्ने प्रश्न पनि खडा भएको छ । लिग–२ साइकलमा नेपालले अब मात्र एक सिरिजका चार खेल खेल्न बाँकी छ । उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउने चुनौती सन्दीपमाथि रहने छ ।

नेपालले लिग–२, २०१९–२०२३ साइकलका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेर शीर्ष चारमा रहँदै सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो । तर यस पटक बाँकी चार खेल जित्दा पनि शीर्ष चारमा पर्ने सम्भावना न्यून छ । त्यस कारण नेपाली टोलीले शीर्ष चारमा पर्नेभन्दा पनि ओडीआई मान्यता जोगाउनेतर्फ ध्यान केन्द्रित गर्नेछ ।

कप्तानमा दोस्रो इनिङ्ससन्दीपले २१ वर्षकै उमेरमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । २९ मंसिर २०७८ मा क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिएको थियो । तर त्यसको एक वर्ष बित्न नपाउँदै उनको कप्तानी खोसिन पुग्यो ।

सन्दीपको कप्तानीमा नेपालले १४ ओडीआई खेल्यो । जसमा ४ खेलमा जित, ९ खेलमा हार र एक खेल बराबरी खेल्यो ।

२१ भदौ २०७९ मा एक युवतीले बलात्कार उजुरी दिएपछि सन्दीपलाई क्यानले कप्तानसँगै राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । २७ पुस २०७९ मा उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्‍यो । तर १३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएसँगै उनी पुन: निलम्बनमा परे । २ जेठ २०८१ मा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीपको क्रिकेट यात्रा पुन: सुरु भएको हो ।

विश्व क्रिकेटको अनुभवदोस्रो पटक कप्तानको जिम्मेवारी पाएका सन्दीपसँग इन्डियन प्रिमियर लिग (आईपीएल)सँगै विश्वका अधिकांश प्रेन्चाइज लिग खेलेको अनुभव छ । उनी आईपीएल खेल्ने पहिलो तथा एक मात्र नेपाली खेलाडी हुन् ।

सन्दीपले सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । सन्दीपसँग आईपीएलसँगै विश्वका लगभग सबै प्रेन्चाइज लिग खेलिसकेको अनुभव छ । बीबीएल, सीपीएल, बीपीएल, पीएसएल, ग्लोबल टी २० क्यानडा, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् ।

सन्दीप नेपालबाट ओडीआई र टी २० आई दुवैमा १०० विकेट लिने पहिलो बलर हुन् । उनको नाममा ओडिआईमा सबैभन्दा छिटो १०० र १५० विकेट लिने विश्व कीर्तिमान पनि छ । उनले ४२ खेलमा १०० विकेट र ७३ खेलमा १५० विकेट लिँदै कीर्तिमान आफ्नो नाममा बनाएका थिए ।

सर्वाधिक (३) ओडीआई खेलमा ४ विकेट लिने विश्व कीर्तिमानमा पनि सन्दीपले संयुक्त रूपमा आफ्नो नाम लेखाएका छन् । नेपालको बलिङ आक्रमणका महत्वपूर्ण सदस्य सन्दीपले ७७ खेलमा १५४ विकेट लिएका छन् ।

पछिल्ला खेलमा नेपालले लगातार हार बेहोर्दा सन्दीपको बलिङ पनि चल्न सकेको थिएन । नेदरल्यान्ड्समा भएको पछिल्लो सिरिजका चारमध्ये सुरुवाती ३ खेलमा उनी विकेटविहीन हुन पुगे । चौथो खेलमा उनलाई बेन्चमा राखियो । पछिल्ला १० ओडीआई खेलमा सन्दीपले १७ विकेट लिएका छन् । घरेलु मैदानमा भएका पछिल्ला ८ खेलमा १५ विकेट लिए ।

चितवनदेखि सुरु भएको यात्रा
सन्दीप स्याङ्जामा जन्मिए । बुबा भारतीय रेल्वेमा काम गर्ने हुनाले उनले कक्षा चारसम्म भारतमै पढे । क्रिकेट पनि उतै सिकेर फर्किए । चितवन पढ्न आएका सन्दीपले सुरुवातमा आफू पढ्ने स्कुलबाट विभिन्न प्रतियोगिता खेले । त्यसपछि चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले । जहाँ नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का उनका प्रशिक्षक थिए ।

बलिङतर्फ स्पिनमा उनको विशेष दखल थियो । टेलिभजनमा अस्ट्रेलियन स्टार सेन वार्नको बलिङ हेर्थे र मैदानमा त्यसकै सिको गर्थे । एकेडेमीमा प्रशिक्षण गर्ने क्रममा सन्दीपमाथि नेपाली राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक पुबुदु दसानायेकेको आँखा पर्‍यो । दसानायेकेले सन्दीपलाई तत्कालै यू–१९ को क्याम्पमा बोलाए ।

सन् २०१५ को अक्टोबरमा मलेसियामा भएको आईसीसी यू–१९ ग्लोबल क्वालिफायरका १४ वर्षीय किशोरले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । तर त्यसको केही समयमा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेटमा स्थान बनाउन सफल भए । उनले त्यो विश्वकप मात्र खेलेनन्, दोस्रो खेलमा आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएर सनसनी मच्चाए ।

३१ मे २०१८ मा आईसीसी वर्ल्ड–११ बाट वेस्ट इन्डिजविरुद्ध खेल्दै टी–२० आईमा डेब्यु गरे । त्यसको दुई महिनापछि नेदरल्यान्डविरुद्ध खेल्दै ओडीआई क्रिकेटमा पनि सन्दीपले डेब्यु गरे । त्यसपछि उनले पछाडि फर्किनु परेको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन