विज्ञापन

नेकपाले भन्यो– सरकारले ३५ वर्षको उपलब्धि र इतिहासको अपमान गर्‍यो

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्टले सरकारले विगत ३५ वर्षको उपलब्धि र राजनीतिक इतिहासको अपमान गरेको बताएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा सांसद विष्टले वर्तमान सरकारले सुधारका नाममा भएका राम्रा कामहरूलाई उल्ट्याउन खोजेको र अनुभवी कर्मचारीतन्त्रमाथि आतङ्क सिर्जना गरेको आरोप लगाए।

उनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन भेरी लिफ्ट खानेपानी आयोजनाको ठेक्का रद्द गरिएकोमा कडा आपत्ति जनाउँदै करिब २५ प्रतिशत काम भइसकेको आयोजना रोकेर सरकारले सुर्खेतमा पानीको हाहाकार सिर्जना गर्न खोजेको बताए।

सांसद विष्टले सरकारले आईटी प्रेमी र पारदर्शी प्रणालीको दाबी गरे पनि व्यवहारमा भने त्यसको विपरीत काम गरिरहेको बताए। विश्व बैंक र एसियाली विकास बैंकको सहयोगमा सुरु भएको ई–बिडिङ प्रणालीलाई विस्थापित गरी पुनः हार्ड कपी पेस गर्ने पुरानो र अपारदर्शी पद्धति अपनाउन लागिएकोमा उनले चिन्ता व्यक्त गरे। यस्तो कदमले ठेकेदारहरूबिच मिलेमतो र गुण्डागर्दीलाई प्रश्रय दिने उनको दाबी छ। उनले सरकारको ई–गभर्नेन्स प्रणालीको सोर्स कोड भारतीय कम्पनीसँग रहेको भन्दै त्यसलाई नेपालमै राख्न र प्रणालीमा देखिएको समस्याको छानबिन गर्न समेत माग गरे।

प्रशासनिक क्षेत्रमा अनुभवी सहसचिव र कर्मचारीहरूलाई विना कारण सरुवा गरी आतङ्कित पारिएको विषयलाई पनि उनले जोडदार रूपमा उठाए। अवकाश हुन लागेका र राष्ट्रप्रति वफादार रहेका कर्मचारीहरूलाई मन्त्रालयमा थुनेर राख्ने र सचिवालयबाट शासन चलाउन खोज्ने प्रवृत्तिले देश कता जान्छ भनी उनले प्रश्न गरे।

३५ वर्षसम्म के भयो ? भन्दै प्रश्न गर्ने नयाँ पुस्ताका मन्त्रीहरूलाई उनले इतिहास पढ्न र गणतन्त्र ल्याउन गरिएको सङ्घर्षको सम्मान गर्न आग्रह गरे। ३५ वर्षको इतिहासलाई गाली गरेर मात्र देश नचल्ने भन्दै उनले सत्तामा रहेकाहरूलाई सभ्य र मर्यादित हुन सुझाव दिए।

सांसद विष्टले सरकारको खर्च र विलासितामाथि पनि टिप्पणी गरे। भौतिक पूर्वाधार मन्त्रीले सामान्य खोकी लाग्दा १६ लाख खर्चेर हेलिकप्टर चार्टर गरेको र गृह मन्त्रीको सचिवालयले ८ लाखमा स्काई भ्यान बुक गरेको उदाहरण दिँदै उनले ३५ वर्षको इतिहासमा यस्तो विलासिता नभएको बताए।

उनले ४२०० मेगावाट विद्युत् उत्पादन हुँदा पनि जनताले बत्ती बाल्न नपाएको, इन्डक्सन चुल्हो बाल्दा ट्रान्सफर्मर पड्किने तर्क दिइएको र ग्यास तथा पासपोर्टका लागि अझै पनि लामो लाइन बस्नुपर्ने बाध्यता रहेको बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन