विज्ञापन

‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्!’: भोटेकोसी बाढीपछि आफन्तको खोजीमा सामाजिक सञ्जाल बन्यो ‘हेल्प डेस्क’

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका दर्जनौँ नागरिकको अवस्था अझै अज्ञात छ। बाढी आएको चार दिन बितिसक्दा पनि सरकारी तवरबाट उद्धार र खोजतलासी भइरहेको दाबी गरिए पनि आफन्तको पत्तो नपाएपछि पीडित परिवारहरू सामाजिक सञ्जाल, सञ्चारमाध्यम र स्थानीय प्रशासनमार्फत ‘हाम्रा मान्छेको अवस्था पत्ता लगाइदिनुस्’ भन्दै गुहार लगाउन बाध्य भएका छन्।

बाढीपछि रसुवा र आसपासका क्षेत्रमा सम्पर्कविहीन भएकाहरूलाई खोज्नका लागि फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल यतिवेला मुख्य ‘हेल्प डेस्क’का रूपमा प्रयोग भइरहेका छन्। पीडित परिवारहरूले आफन्तका तस्बिर, परिचय, काम गर्ने संस्था र अन्तिम सम्पर्क समय सेयर गर्दै उद्धार तथा विश्वसनीय सूचनाको याचना गरिरहेका छन्।

सामाजिक सञ्जालमा गुहार लगाइरहेका केही प्रतिनिधि घटना:
अपर त्रिशूली-१ का कुमार खड्का: डेढ वर्षदेखि हाइड्रोपावरमा कार्यरत कुमार भदौ १० को बाढीपछि सम्पर्कविहीन छन्। उनका छोरा सुवास खड्काले राज्यका विभिन्न निकाय र व्यक्तिहरूलाई ट्याग गर्दै बुबाको सकुशल उद्धारको माग गरेका छन्।

भन्सार कर्मचारी अनिता पुरी: रसुवा भन्सार कार्यालयकी नायब सुब्बा अनिता टिमुरे क्षेत्रबाट सम्पर्कविहीन भएकी हुन्। उनकी बहिनी श्रेयनाले बाढीको जोखिममा रहेको घरको तस्बिर सेयर गर्दै उक्त स्थानमा तत्काल उद्धार टोली पठाउन सरकारसँग माग गरेकी छन्।

पत्रकार महासंघको अपिल: नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्तले लाङटाङ हाइड्रोपावरमा कार्यरत कञ्चनपुरका देवबहादुर चन्दको खोजीका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्।

सुरुङभित्र फसेका ६ इन्जिनियर तथा प्राविधिक: चिलिमे हाइड्रोपावरको सुरुङभित्र ड्युटीमा रहेका इन्जिनियर सन्तोष पाण्डेसहित ६ जना सुरुङको मुख बाढीले थुनिएपछि भित्रै फसेको आशंका गरिएको छ। उनीहरूका परिवारले सुरुङ खोलेर तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

नेपाली सेनाका रोशनकुमार यादव: रसुवा पोस्टिङमा रहेका सैनिक जवान रोशन सम्पर्कविहीन भएपछि उनको परिवारले सामाजिक सञ्जालमार्फत उनको अवस्थाबारे जानकारी उपलब्ध गराइदिन अनुरोध गरेको छ।

टिमुरेबाट दुई जना गायब: बाजुराका मोहनलाल रोकाया र विक्रम भण्डारी टिमुरे बजारबाट बाढीपछि सम्पर्कमा आएका छैनन्।

पास लिएका किसन खतिवडा: भदौ १० गते बिहान इमिग्रेसन पास लिएका किसन सोही बिहान ८ बजेपछि परिवारको सम्पर्क बाहिर रहेका छन्।

त्रिशूली-३ ‘बी’ का ११ जना: बझाङका हेमन्तराज जोशीसहित निर्माणाधीन त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कामदार सम्पर्कविहीन छन्।

डा. आचार्य र रामराजा रिमाल: कैलाश मानसरोवर यात्रामा मेडिकल अफिसरका रूपमा गएका डा. आचार्य केरुङबाट तथा मैलुङ त्रिशूली-३ए जलविद्युत् आयोजनाका रामराजा रिमाल आयोजना स्थलबाटै गायब छन्। रामराजाकी छोरी मन्दिराले विदेशबाटै भिडियो सेयर गरी बुबाको उद्धारको याचना गरेकी छन्।

पत्रकार टेकराज थामी: पत्रकार कालिका खड्काका अनुसार उनका पति टेकराज थामी केरुङको कार्यक्रमका लागि रसुवागढी पुगेपछि फोन अफ भई सम्पर्कविहीन भएका छन्।

सूचना प्रणालीको कमजोरी उजागार
विपद्का वेला प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको नामावली र वास्तविक अवस्थाबारे एकीकृत सूचना दिने सरकारी प्रणाली प्रभावकारी नहुँदा पीडितका परिवारहरू थप मानसिक तनावमा परेका छन्।

देशका विभिन्न भागबाट काम, रोजगारी (जस्तै लमजुङका झपडबहादुर घर्ती दम्पती, हुम्लाका १२ जना कामदार) तथा भ्रमणका लागि रसुवा पुगेका अनेकौँ नागरिकको अवस्था अझै स्पष्ट हुन सकेको छैन। राहतभन्दा पनि पहिले आफ्ना मान्छेको जीवित वा मृत अवस्थाबारे आधिकारिक सूचना पाउनु नै आफन्तहरूको पहिलो प्राथमिकता बनेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन