५ कात्तिक, विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखका रुपमा पठाउन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको निर्णय दुई दिनमै फेरिएको छ ।

गएको शुक्रबार प्रहरी प्रधान कार्यालयले मोरङमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो । तर, सोमबार लिम्बूको काज सरुवा रद्द गर्दै फेरि एसपी नारायणप्रसाद चिमरियालाई पठाउने निर्णय गरिएको छ ।

लिम्बू पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहिसकेका प्रहरी अधिकृत हुन् । प्रहरी अधिकृतहरुको दाबी अनुसार, सत्तारुढ नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो ।

उनको ठाउँमा चिमरियालाई पठाइएको हो । प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने लिम्बू व्यक्तिगत कारणले जान नसक्ने भएपछि अर्को सरुवा गरिएको बताए ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की लेनदेन सम्बन्धी विवादमा मुछिएपछि सरुवामा परेका थिए । उनीमाथि कोशी प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन गरिरहेको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0