७ कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु तथा बाली बीमाका लागि ‘रियल टाइम सफ्टवेयर’ ल्याएको छ ।

कृषि मन्त्रालयले बीमा प्राधिकरण मार्फत रियल टाइम सफ्टवेयर सुरु गरेको हो । मन्त्रालय र बीमा प्राधिकरणको सक्रियतामा यो सफ्टवेयर निर्माण गरिएको हो ।

कृषिमन्त्री रामनाथ अधिकारीले किसान गोविन्द घिमिरेलाई बीमा लेख हस्तान्तरण गरेर सफ्टवेयर सुरुवात गरे । सरकार गठनको १ सय दिन अवसर पारेर मन्त्रालयले सफ्टवेयर सार्वजनिक गरेको हो ।

प्राधिकरण प्रवक्ता सुशीलदेव सुवेदीले कृषि तथा पशुपन्छी बीमा अहिलेसम्मको नै ठूलो उपलब्धिका रूपमा लिएको बताए ।

सुवेदीका अनुसार अब कुन किसानले बीमा भुक्तानी दाबी गरिरहेको छ, कसले प्रिमियम तिर्‍यो, कसले भुक्तानी पायो, कुन क्षतिमा भुक्तानी पायो लगायत ताजा अपडेट हुने यो ठूलो सफ्टवेयर हो ।

अब बीमा तथ्यांकसँग सम्बन्धित समस्या नहुने भएको उनले बताए । ‘अब बिमित किसान, बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा प्राधिकरण एउटै सफ्टवेयरमा आउँछन्,’ सुवेदीले भने ।

सुवेदीले यसको मुख्य चुनौतीका रूपमा देशभरि सिस्टम लागु गर्नुलाई लिएका छन् । ‘यो नेपालको सफ्टवेयरमा ठूलो सिस्टम हो । सिस्टम त बन्यो यसका इररहरू हेर्न बाँकी छ, ६/७ महिना पाइलटिङका रूपमा रहेको छ । फिल्डमा सिस्टम हेर्न बाँकी छ । टेक्निकल कुरा गर्ने हो भने ८–१० वर्षका लागि समस्या नहुने गरी बनाएको छौं,’ उनले भने ।

बीमा कम्पनीहरूले पूरै प्रिमियम गर्नेको भुक्तानी दिए पनि सरकारले प्रिमियम बापत दिने अनुदान रोक्दा १ साउनदेखि बीमा भुक्तानी रोकिएको थियो ।

सुवेदीका अनुसार लघु बीमा ५ प्रतिशत प्रिमियम रहेको छ भने पशुमा पनि ५ प्रतिशत प्रिमियम तिर्नपर्नै छ । यस्तै कृषि बाली बीमा पनि ५/७ प्रतिशत नै छ ।

रियल टाइम सफ्टवेयर सञ्चालनमा ल्याउनुअघि बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता भई काम गर्न अभिकर्ता समेत सूचीकृत हुन सूचना निकालेको थियो ।

कृषि मन्त्रालयका अनुसार बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको छ ।

नयाँ सरकार आएपछि पशुधन बीमातर्फ ३७ हजार ६ सय ११ र बाली बीमातर्फ ३ सय २३ बीमा लेखा जारी भएको छ । सरकारले बीमा प्रिमियममा दिइने अनुदान बापत दिनुपर्ने ८० करोड भुक्तानी गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0