२३ कात्तिक, काठमाडौं । सेयर बजारमा माइक्रोफाइनान्स सेक्टरको सबैभन्दा महँगो कम्पनी हो – आत्मनिर्भर लघुवित्त वित्तीय संस्था। बुधबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ४ हजार ८ सय रुपैयाँ छ ।
तर कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नोक्सानी देखिएको छ । तीन महिनामा कम्पनीको नोक्सानी ४३ लाख ५३ हजार रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी ५२ लाख रुपैयाँ खुद नाफामा थियो ।
कम्पनीको खुद ब्याज आम्दानी बढ्दा पनि नोक्सानी देखिएको छ । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा २ करोड ६९ लाख रुपैयाँ रहेकोमा यो आवको पहिलो त्रैमासमा ३ करोड १३ लाख रुपैयाँ छ ।
कम्पनी नोक्सानीमा जानुको प्रमुख कारण संभावित लोन लस प्रोभिजन रकम बढ्नु हो । यस्तो रकम पहिले २ करोड ३८ लाख रुपैयाँ रहेकोमा अहिले ४ करोड ५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले समयमै उठाउन नसकेको कर्जा अर्थात् निष्क्रिय कर्जा उच्च दरले बढेको छ ।
कुल कर्जामा निष्क्रिय कर्जा असोज मसान्तसम्म १४.४३ प्रतिशत पुगेको छ । जबकि गत वर्षको असोजमा ८.५३ प्रतिशत थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ । प्रतिसेयर नेटवर्थ भने ३८२ रुपैयाँ छ ।