२ मंसिर, गुल्मी । मध्यपहाडी (मदन भण्डारी) राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी खण्डका विभिन्न चार स्थानमा पक्की पुल निर्माण गरिएको छ । जिल्ला सदरमुकाम तम्घासबाट पश्चिम खण्डमा पर्ने हुलाके, फूलबारी, धनार्जी र घमिर खोलामा पुल निर्माण भएको हो ।

हुलाके र फूलबारी पुल निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको छ । त्यसैले यी पुल प्रयोगमा समेत आइसकेका छन् । धनार्जी र घमिर पुल भने निर्माण सम्पन्नको अन्तिम चरणमा छन् ।

चारवटै पुलको मुख्य निर्माण कार्य अन्तिम चरणमा पुगेको मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले बताए । यो राजमार्ग भएर गुल्मी जिल्लाका पश्चिम भेगसँगै छिमेकी जिल्ला प्यूठानसम्म सवारीसाधनहरु आउजाउ गर्दछन् । दुर्गम मानिएको पश्चिम भेगको यात्रालाई पक्की पुलले सुगम तुल्याएको छ ।

पुल बनेपछि आउजाउ सहज भएको मालिका–६ का स्थानीय ओमबहादुर कार्कीले बताए । ५ वर्ष पहिले नै सडक कालोपत्रे भए पनि खोलाहरुमा पक्की पुल नबन्दा पैदल यात्रु र साना–ठूला सवारी साधनलाई समेत समस्या परेको थियो ।

मालिका–५ का पूर्व वडाअध्यक्ष शोभाखर गिरीले पुल बनेपछि स्थानीयमा खुसियाली छाएको बताए ।

पुल निर्माणमा निर्माण व्यवसायीले पटक–पटक म्याद थपेर भएपनि यसपटक निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

फूलबारी र घमिर खोलामा पुल बनाउन पन्त निर्माण सेवाले तथा हुलाके र धनार्जी खोलामा पुल बनाउन सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0