३ मंसिर, काठमाडौं । युवा खेलाडी एर्लिङ हालान्डको ह्याट्रिक मद्दतले नर्वेले यूईएफए नेसन्स लिग फुटबलमा फराकिलो जित हासिल गरेको छ ।
लिग बी समूह ३ अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराएको हो । नर्वेको जितमा हालान्डले ह्याट्रिक गर्दा एलेजेण्डर सोर्लोथ र एन्टोनियो नुसाले एक/एक गोल गरे ।
खेलको २३औं मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३७औं मिनेटमा हालान्डले नै दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा सोर्लोथले गोल गरेपछि नर्वेले पहिलो हाफमा ३-० को अग्रता बनायो ।
दोस्रो हाफको ७१औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दै टोलीको अग्रता अझ फराकिलो बनाए । त्यस्तै ७६औं मिनेटमा नुसाले गोल गर्दै नर्वेको ५-० को जित सुनिश्चित गरे ।
२४ वर्षीय हालान्डले राष्ट्रिय टोलीका लागि चौथो ह्याट्रिक गरेका हुन् । योसँगै समग्रमा उनले आफ्नो करियरमा २५ ह्याट्रिक गरेका छन् ।
यस जितसँगै नर्वे ६ खेलमा १३ अंकसहित समूहविजेता बनेको छ । ६ खेलमा एक बराबरी मात्र गरेको काजकस्तान १ अंक मात्र जोड्दै पुछारमा रह्यो ।
नेसन्स लिगका अन्य खेलहरूमा इंग्ल्यान्डले आयरल्यान्डलाई ५-० ले हराउँदा बेल्जियम इजरायलसँग १-० ले पराजित भयो ।