५ मंसीर, काठमाडौं । कानून व्यवसायीहरुको नियमनकारी निकाय नेपाल बार काउन्सिलले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहत दिने निर्णय गरेको छ ।

परिषदको अनुशासन समितिको २५ कात्तिकको बैठकले उनलाई तीनवटा आरोपमा जिम्मेवार ठहर्‍याउँदै नसिहत दिएको हो । उक्त कारबाहीका कारण उनलाई कानून व्यवसाय गर्न कुनै अड्चन पर्नेछैन ।

परिषदको अनुशासन समितिको बैठकले पोखरेललाई कानून व्यवसायीको नैतिकताका आधारभूत सिद्धान्त प्रतिकूल हुने काम गरेको, न्यायिक प्रक्रियालाई दुरूपयोग गराउन खोजेको र न्याय प्रशासनसँग सम्बन्धित काममा अदालत, न्यायाधीशप्रति अनास्था पैदा हुने किसिमको झुटा प्रचार गरेकोमा दोषी ठहर गरेको हो ।

दुई वर्षअघि असार, २०७९ मा नेपाल बार एसोसिएसनका कोषाध्यक्ष समेत रहेका पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई गरेको फोन संवादको अडियो रेकर्ड बाहिरिएको थियो ।

उनले न्यायाधीशलाई ठाडै घुसको प्रस्ताव गर्दै अनुकूलको आदेश भएमा उच्च अदालतबाट त्यसलाई सदर गर्ने र माथिबाट केही नहुने आश्वासन समेत दिएका थिए । सहकारी ठगीको आरोप खेपेका पूर्वसांसद इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई फोन गरेका थिए ।

पुस २०७८ मा उनीहरूबीच कुराकानी भएको थियो । तर न्यायाधीश कोइरालाले संवादमा पोखरेलले भनेअनुसार आदेश गरेनन् ।

न्यायपरिषदले फागुन २०८० मा न्यायाधीश कोइरालालाई सचेत गराउने निर्णय गरेको थियो । अडियो सार्वजनिक भएको झण्डै साढे २ वर्षपछि अधिवक्ता पोखरेलमाथिको छानबिन टुंगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0