२४ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए ।
उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे ।
‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’
साथै, उनले बाँदरलेजस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे ।
‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेर देश बन्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताए ।
जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने उनले बताए ।
कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २, ३ र ४ का ६ हजार पाँच सय २१ घरधुरीका २६ हजार सात सय ४३ जनसंख्या लाभान्वित हुने बताइएको छ ।