३० मंसिर, काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिरको तुलनामा पुसको ब्याजदर स्थिर राख्दा एनमएबी बैंकले भने बढाएको छ ।
मंसिरको तुलनामा पुसका लागि एनएमबीले निक्षेपको अधिकतम ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएको हो । व्यक्तिगत निक्षेपमा एनएमबीले मंसिरका लागि ५.५७ प्रतिशत ब्याजदर तोकेको थियो, जसलाई बढाएर पुसमा ६.६ प्रतिशत ब्याजदर तोकिएको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि ०.५ प्रतिशत बिन्दुले ब्याज बढाएको छ । मंसिरका लागि ५.७५ प्रतिशत निक्षेपको ब्याज राखेको यो बैंकले पुसका लागि ६.२५ प्रतिशत ब्याज तोकेको छ ।
बाँकी बैंकले भने निक्षेपको ब्याज करिब स्थिर राखेका छन् । नेपाल बैंकले ०.३५ प्रतिशत बिन्दु, एनआईसी एसियाले ०.१९ प्रतिशत बिन्दु सानिमाले ०.१ प्रतिशत बिन्दु र कृषि विकास बैंकले ०.०३ प्रतिशत बिन्दुले ब्याज घटाएका छन् । तर, यो घटाइ सांकेतिक मात्रै हो । बाँकी सबै वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपकर्तालाई दिने ब्याज यथावत नै राखेका छन् ।