काठमाडौं । ‘लैंगिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति २०७५’ संशोधनबारे सरोकारवालाबीच छलफल आयोजना गरिएको छ । साथी संस्था र अन्य संघसंस्थाको सहकार्यमा बुधबार काठमाडौंमा छलफल कार्यक्रम गरिएको हो ।
हामी दाजुभाइ संस्थाका अध्यक्ष सञ्जोग ठकुरीले मुलुक संघीयता गइसकेकाले सोही अनुसारको पुरुष सहभागिता रणनीति बनाउनुपर्ने बताए । पुरुष मात्र भन्दा पनि लैंगिक तथा यौनिक अल्पसंख्यकलाई पनि सञ्जालमा समेट्नुपर्नेमा उनले जोड दिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा महाशाखाकी प्रमुख ममता बिष्टले समाजमा लैंगिक हिंसा अन्त्यका लागि महिला पुरुष दुवैको भूमिका आवश्यक भएको बताइन् । रणनीतिसहित हिंसा अन्त्यका लागि प्रयास गर्न पुरुष सञ्जाल बनाएर पुरुषलाई पनि जिम्मेवारी दिइएको उनले बताइन् ।
कार्यक्रममा साथी संस्थाकी कार्यक्रम व्यवस्थापक पलिता थापाले ‘सशक्त महिला समृद्ध नेपाल परियोजना’ अन्तर्गत रणनीति संशोधनको कार्यलाई अन्तिम रुप दिन छलफल आयोजना गरिएको बताइन् ।