काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले कानुनका ज्ञाता लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका दिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र लेखकलाई प्रधानमन्त्रीपछि प्रभाशाली मानिने गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । नेपाली राजनीतिमा शालीन र वैद्धिक नेताको छवि बनाएका लेखकलाई गृह प्रशासनमा खरो उत्रिनुपर्ने चुनौती छ ।

बैतडीमा २०२० सालमा जन्मेका नेता लेखकको प्रारम्भिक शिक्षा त्यहीँका विभिन्न विद्यालयहरुमा भयो । कक्षा ५ देखि १० सम्म महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयमा नेता लेखकले अध्ययन गरे । उच्च शिक्षा अर्थात् ‘प्लस टु’ मा नेता लेखकले विज्ञान पढ्ने निधो गरे । त्यति बेला विज्ञान अध्ययनका लागि महेन्द्रनगरको एक मात्रै विद्यालय थियो, सिद्धनाथ विज्ञान क्याम्पस । नेता लेखकले उक्त विद्यालयबाट बायोलोजी विषयमा आइएस्सीको अध्ययन पूरा गरे । नेता लेखकको राजनीति त्यहीँ सिद्धनाथ विज्ञान क्याम्पसबाटै सुरु भयो ।

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट लेखकले ०३७ मा राजनीति थाले । लेखकले नेविसंघबाट सिद्धनाथ क्याम्पसको स्ववियू सभापतिमा चुनावी प्रतिस्पर्धा गरेका थिए । फेरि उच्च शिक्षा अध्ययनका लागि नेता लेखक भारतको लखनउ विश्वविद्यालय पुगे । त्यहाँबाट बिए, एमए र एलएलबी (कानुन) को अध्ययन पुरा गरेर लेखक नेपाल फर्किए । अध्ययन पुरा गरेर महेन्द्रनगर फर्केका लेखकले ल–फर्ममा सञ्चालनमा ल्याए । लेखकले महेन्द्रनगरमा कानुनी व्यवसाय, पत्रकारिता र शिक्षण पेसा सँगसँगै अगाडि बढाए । महाकाली साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक बन्नेदेखि तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसमा इतिहास, वाणिज्य र कानुन सङ्कायमा अध्यापन पनि गरे ।

२०३७ मा नेविसंघको जिल्ला उपसभापति बनेका लेखक २०४८ र २०५६ गरी दुई पटक नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव बने । त्यसपछि उनी पार्टीको केन्द्रीय राजनीति केन्द्रित भए । २०५९ मा शेरबहादुर देउवा नेतृत्वमा बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्य बने । २०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबिच एकता भएपछि पनि लेखक केन्द्रीय सदस्य बने ।

२०६७ भएको पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका उनी २०७२ र ०७८ मा भएका १३ औँ र १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका लेखकको संसद् यात्रा २०५६ बाटै सुरु भयो । ०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका थिए । ०६३मा प्रतिनिधिसभा पुनर्स्थापित भएपछि बनेको अन्तरिम सरकारमा सुरुमा श्रमराज्य मन्त्री बनेका लेखक पछि श्रम मन्त्री नै भए । तत्कालीन माओवादीसँगको वार्ता टोलीको सदस्य रहेर काम लेखकले विस्तृत शान्ति सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । शान्ति सम्झौतापछि नेपालको अन्तरिम संविधानको अन्तिम रूप दिने कार्यमा उनले भूमिका खेलेका थिए ।

लेखक ०६४ को आम निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बनेका संविधान निर्माण तथा लेखनमा महत्त्वपूर्ण समितिहरुमा रहेर काम गरेका थिए । यसरी पहिलो संविधान सभामा ४ वर्ष सम्म संविधान निर्माण तथा लेखनमा उनी संलग्न रहे ।

०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा कञ्चनपुरको तत्कालीन ४ क्षेत्रबाट निर्वाचित लेखकले संविधान लेखनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनी न्यायपालिका सम्बन्धी उप समितिको संयोजक थिए । २०७३ मा बनेमा लेखक भौतिक पूर्वाधार तथा योजना मन्त्री भए । २०७४ को चुनावमा कञ्चनपुर–३ मा झिनो मतले पराजित लेखक २०७९ मा सोही क्षेत्रबाट भारी मतान्तरले निर्वाचित भए ।

हाल कांग्रेस संसदीय दलको प्रमुख सचेतक लेखकले कांग्रेस–एमाले सत्ता समीकरणका लागि मुख्य भूमिका खेले । सभापति शेरबहार देउवाको विश्वास पात्र लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका मिलेको छ । कांग्रेसबाट सुदूरपश्चिममा देउवापछि गृहमन्त्री बन्ने लेखक पहिलो व्यक्ति बनेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0