काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । जसपा नेपालले सो सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले रातोपाटीसँग भने, ‘पहिलादेखि नै सरकारमा सहभागी नहुने नै भनेका थियौँ । त्यही अनुसार हामी सरकारमा गएनौँ । तर, बाहिरबाट समर्थन जनाएका छौँ ।’ अहिले बाहिरबाट समर्थन गर्ने र सरकारको कार्यशैली र व्यवहारको आधारमा थप निर्णय लिन सकिने उनको भनाई थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले नै आफ्नो पार्टी विभाजन गराएको अध्यक्ष यादवको आरोप छ । पार्टी विभाजनलगत्तै उनले आफ्नो समर्थन फिर्ता लिएर प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका थिए ।

सरकारबाट बाहिरिएसँगै अध्यक्ष यादवले कांग्रेस नेतृत्वको तत्कालीन विपक्षी गठबन्धनमा मिसिएका थिए । अहिले त्यही कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनेको छ ।

कांग्रेसले जसपा नेपाललाई पनि सरकारमा सहभागी गराउन चाहे पनि एमाले यसमा तयार नभएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सबैलाई बाँडफाँट गर्दा मन्त्रालय नपुग्ने देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै अर्को सरकारमा मात्र जसपा नेपाललाई ल्याउन भनेका छन् । कांग्रेस नेतृत्वमा गठन हुने सरकारमा जसपा नेपाललाई पनि सहभागी गराउन सभापति देउवालाई भनिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष यादवबिच सम्बन्ध सुमधुर छैन । ओली नेतृत्वको अघिल्लो सरकारकै पालामा दुईबिच सम्बन्ध बिग्रिएको थियो । प्रधानमन्त्री ओलीसँग खटपट भएपछि उनी सरकारबाट निस्केका थिए । तर, २०७९ सालमा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग यादवले चुनावी तालमेल गरेका थिए ।

सो तालमेलको क्रममा दुई बुँदे सम्झौता भएको थियो । एउटा बुँदामा यो सहकार्यलाई अर्को चुनावसम्म लैजाने उल्लेख थियो । तर चुनाव सकिने बित्तिकै उनी एमालेलाई छाडेर यादव तत्कालीन काँग्रेस–माओवादी गठबन्धनमा सहभागी भएका थिए ।

सो गठबन्धनमा सहभागी भएर बारा–२ उपचुनाव पनि जिते । भागबण्डामा उपराष्ट्रपति र मधेस प्रदेश सरकार पाउनुदेखि लिएर संघीय सरकारमा समेत उनी सहभागी भएका थिए ।

पछि माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन भएको थियो । एमाले–माओवादी गठबन्धन सरकारमा पनि जसपा नेपालको निरन्तरता रह्यो । एमाले–माओवादी गठबन्धन सरकारमा सहभागी भएको एक महिना नपुग्दै जसपा नेपाल विभाजन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0