१० पुस, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याउने भएको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरेको गाउँपालिकाले बताएको छ ।
‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौं बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
उक्त जिपलाइनको आगामी शुक्रबारबाट औपचारिक सुरुवात हुने बताइएको छ ।
‘पर्यटन प्रवर्द्धन गर्न पालिकाभित्र संरचना निर्माणसँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तिरिक पर्यटनलाई थप प्रभावकारी बनाउने लक्ष्या लिएका छौं,’ गाउँपालिका अध्यक्ष पाण्डेले भने ।
अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु भएको जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र शुक्रबारबाट औपचारिक सुरुवाता हुनेछ ।
१ हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ रहेको छ ।
जिपलाइनमा औसत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशनदेखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधिकतम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए ।
८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागत रहेको छ ।
जिपलाइन चढ्नका लागि गाउँपालिकाभित्रका स्थानीयका लागि ४ सय, विद्यार्थीहरूका लागि ३ सय, पालिका बाहिरका नागरिकको लागि ५ सय र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पालिकाले निर्माण गरेको जिपलाइनको सञ्चालन जिम्मा भने नीजि क्षेत्रलाई दिने तयारी रहेको उपाध्यक्ष सावित्रा ज्ञवालीले बताइन् ।
जिपलाइन निर्माण स्थल रिडी–तम्घास राजमार्गको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने ज्ञवालीको भनाइ छ । गाउँपालिकाको छत्रकोट देवालय मन्दिरमा अहिले पनि दैनिक सयौं नागरिक मन्दिर अवलोकन र बनभोजका लागि पुग्ने गर्छन् ।