२ साउन, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन आएको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलमा नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एएसएसपी, विपद् प्राधिकरणका उपसचिव, यातायात व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।

सो टोलीले घटनास्थलको प्रकृति, भूबनोट, सडकको अवस्था लगायतका विषयमा अध्ययन र अहिलेसम्म भैरहेको खोज तथा उद्धारको बारेमा जानकारी लिने छ । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय चितवनमा अन्य सरोकारवालासँग छलफल गर्ने तयारी अध्ययन टोलीको छ ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न रिजालको संयोकजत्वमा कार्यदल गठन गरेका थिए । कार्यदललाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

असार २८ गते बिहान काठमाडौंबाट रौतहटको गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस सिमलताल भन्ने स्थानको पहिरोमा परेर एक साथ त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ३८ यात्रु र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्स बसमा २७ यात्रु सवार थिए । त्रिशूलीमा खसेका दुबै बसका ६५ जनामध्ये ३ जनामात्रै पौडिएर बाँच्न सकेका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रु र दुबै बसको अवस्था अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0