काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को बुधबार जारी विभागी टोली नेपाल पुलिस क्लबविरुद्धको खेलमा मधेश प्रदेश आफ्नो पहिलो पालीमा केवल एक सय २९ रन बनाउँदै अलआउट भएको छ ।
वीरगञ्जमा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशका लागि ओपनर ब्याट्सम्यान मयान यादबले उत्कृष्ट अर्धशतकीय पाली खेले । मयानले ५९ रन बनाए । उनले एक सय दुई बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।
१८ वर्षीय मयानले ७९ बलमा दुई छक्का र चार चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले अघिल्लो खेलमा पनि शतक बनाएका थिए । उनी जारी जय ट्रफीमा शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् । मयानले बागमती प्रदेशविरुद्धको खेलमा एक सय ६ रन बनाएका थिए ।
पुलिस क्लबविरुद्धको खेलमा मधेश प्रदेशका लागि निरज यादवले पनि २९ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निरजले ३४ बलमा ६ चौका पनि हिर्काए । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित १७ रन थपे ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका अभिषेकले २९ बलको सामना गरी चार चौका हिर्काए । मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यानसमेत रहेका कप्तान हरिशंकर साह नौ रन बनाउँदै आउट भएका थिए ।
कप्तान हरिशंकरले १८ बलको सामना गरी दुई चौका पनि हिर्काए । विशाल पटेल ६ रन बनाउँदै आउट भए भने साहिल पटेलले खातासम्म खोल्न सकेनन् । राहुल मण्डल एक र विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त दुई रन बनाउँदै आउट भए ।
रुपेश सिंह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । रञ्जित कुमार पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अफरुद्दिन रैन शून्य रनमै आउट भए । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि पाँच रन पाएको थियो ।
पुलिस क्लबका बलर गुलसन झाले पाँच विकेट लिए । उनले १३ ओभरमा चार मेडन राख्दै ४० रन खर्चिए । कुशल भुर्तेलले पनि दुई विकेट हात पारे । ललित राजवंशी र श्रवण यादवले पनि एक–एक विकेट लिए ।