अटवा — क्यानडास्थित नेपाली दूतावास र क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजको संयुक्त आयोजनामा भ्यानकुभरको बर्नाबीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रम नेपाल–क्यानडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सवको अवसरमा गरिएको हो।
कार्यक्रममा नेपालका लागि क्यानडाका राजदूत भरत राज पौड्यालले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सगरमाथा सफल आरोहणको ऐतिहासिक महत्व स्मरण गर्दै शेर्पा समुदायको योगदानको उच्च मूल्याङ्कन गरे। उनले क्यानडाली नागरिकलाई नेपाल भ्रमण गरी साहसिक यात्रा, संस्कृति र प्राकृतिक सौन्दर्यको अनुभव गर्न आग्रह गरे।
कीर्तिमानी आरोही पेमा छिरिङ शेर्पाले भर्चुअल सम्बोधनमा जलवायु परिवर्तनका कारण सगरमाथा आरोहण थप चुनौतीपूर्ण बन्दै गएको बताए। उनले चट्टानको वृद्धि र हिउँको कमीले जोखिम बढेकोप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रममा सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो। राजदूत पौड्यालले प्रेरणादायी आरोहीहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको कदर गरे।
ब्रिटिश कोलम्बिया विधायिका सभाका सभामुख राज चौहान, सांसद पॉल छोई, बर्नाबी नगरका मेयर माइक हर्ले तथा नेपाली समुदायका अगुवा व्यक्तित्वहरूले सगरमाथा दिवसको महत्व र नेपाल–क्यानडा सम्बन्धबारे धारणा व्यक्त गरे।
क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजका अध्यक्ष नविन ढकाल, एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाल लगायतले युवाहरूलाई प्रेरित गर्दै सगरमाथालाई नेपाली गौरवका रूपमा प्रस्तुत गरे।
कार्यक्रममा नेपाली र क्यानडाली कलाकारहरूको सांस्कृतिक प्रस्तुति — कुमारी, वज्रयोगिनी, तामाङ, लिम्बु, लाखे र क्यानडाली आदिवासी नृत्य—ले सांस्कृतिक विविधता झल्काएको थियो। क्यानडा तथा अमेरिकी राज्यहरूबाट आएका प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

















