काठमाडौं — भारतको मुम्बईस्थित ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेशन नजिकै गुडिरहेको ट्रेनबाट १० जना यात्रु खसेका छन्। घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्।
सोमबार बिहान करिब ९:२० बजे कसरा-एएसएमटी द्रुत लोकल ट्रेनमा यात्रा गरिरहेका ती यात्रुहरू दुर्घटनामा परेको मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज नीलाले जानकारी दिए। दुर्घटना मुम्ब्रा र दिवा स्टेशनहरू बीच डाउन/फास्ट लाइनमा भएको थियो।
सीपीआरओका अनुसार, दुई विपरीत दिशामा गइरहेका दुई ट्रेनका केही यात्रुहरू फुटबोर्डमा उभिएका थिए। जब यी दुई ट्रेनहरू क्रस भए, यात्रुहरू एक आपसमा ठोक्किएर रेलबाट तल खसेका हुन्। यो घटना ट्रेनहरूको झुकाव (कर्भ) भएर दुरी अलिकति कम हुँदा भएको अनुमान गरिएको छ।
घाइते सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ भने घटनाको थप छानबिन भइरहेको छ।
यो घटना यात्रुहरूको अनियमित र असुरक्षित यात्राको जोखिमलाई पुनः उजागर गरेको छ।

















