काठमाडौं — भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थल नजिकै एक गम्भीर विमान दुर्घटना भएको छ। इन्डिया टुडेका अनुसार, बिहीबार दिउँसो मेघानीनगर क्षेत्रमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको हो।
लन्डनका लागि उडान भरेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडेको केही समयमै दुर्घटनामा परेको जनाइएको छ। उक्त विमानमा २४२ जना यात्रु सवार थिए। हालसम्म यात्रुहरूको अवस्थाबारे स्पष्ट विवरण आइसकेको छैन।
दुर्घटनापछि घटनास्थल आसपासबाट लिइएका दृश्यहरूमा आकाशमा बाक्लो कालो धुवाँ देखिएको बताइएको छ। तत्कालै सातवटा दमकल र अन्य आपतकालीन उद्धार टोलीहरू परिचालन गरिएको छ। घटनास्थलमा खोज, उद्धार तथा आगो नियन्त्रणको काम तीव्र रूपमा भइरहेको बताइएको छ।
दुर्घटनाको कारण तथा क्षतिको विवरण औपचारिक रूपमा पुष्टि भइनसकेको भए पनि प्रारम्भिक रिपोर्टहरू अनुसार उडान भर्दा केही प्राविधिक समस्या देखिएको आशंका गरिएको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।

















