विज्ञापन

पोखरा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायीहरूको टोली लुम्बिनीमा

विज्ञापन
Image
विज्ञापन

बुटवल । पोखराको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘जाऊँ है पोखरा’ अभियानसहित होटल व्यवसायीहरूको टोली लुम्बिनी पुगेको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा आएको टोलीले बुटवलमा रूपन्देहीका पर्यटन व्यवसायी तथा पत्रकारहरूसँग छलफल गरेको हो।

टोलीले यसअघि झैं यस वर्ष पनि नेपालगन्ज, सुर्खेत र दाङका पर्यटन व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ। सुवेदीका अनुसार करिब २० वर्षअघि शुरु गरिएको यो अभियानले पोखराको आन्तरिक पर्यटनमा उल्लेखनीय योगदान पुर्‍याएको छ। सुरुमा पोखरामा आन्तरिक पर्यटकको हिस्सा २ प्रतिशत मात्र थियो भने अहिले त्यो संख्या ४० प्रतिशत नाघेको उनले बताए।

उनले नेपालीहरूमा घुम्ने संस्कृति बढेको, पहिले आफन्तकहाँ बस्ने चलन भए पनि अहिले होटल रोज्ने प्रवृत्ति बढेको उल्लेख गरे। हाल पोखरामा १,२०० भन्दा बढी होटल सञ्चालनमा छन् र एकैपटक ४०,००० पर्यटकलाई बस्न सक्ने क्षमता रहेको जानकारी दिए।

पोखरा अब प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक र साहसिक गतिविधिका लागि पनि प्रमुख गन्तव्य बनिरहेको छ। बन्जी, प्याराग्लाइडिङ, हाइकिङ, साइक्लिङ र केबलकारजस्ता साहसिक खेलले पनि पर्यटक आकर्षण बढाएको उनले बताए। कोभिडपछि प्रभावित पर्यटन क्षेत्र विस्तारै सुधार उन्मुख रहेको र अहिलेको प्राथमिकता पर्यटकको बसाइँ लम्ब्याउनेतर्फ केन्द्रित रहेको उल्लेख गरे।

सुवेदीले बेलहिया नाका हुँदै आउने भारतीय पर्यटकहरू लुम्बिनी, पाल्पा, पोखरा हुँदै मुक्तिनाथ जाने क्रम बढेकाले रूपन्देही र पोखरा मिलेर समन्वित योजना बनाउनुपर्ने बताए। निजी क्षेत्रको ५ खर्बभन्दा बढी लगानी रहेको पोखराका होटल क्षेत्रमा २० हजारभन्दा बढीले रोजगारी पाएका छन्।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्यको रूपमा चित्रण गर्दै, लुम्बिनी र पोखरालाई परिपूरक गन्तव्य बनाउने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले पोखरालाई नेचर, कल्चर र एडभेन्चर तीनवटै क्षेत्रमा धनी र जीवन्त सहरको रूपमा चिनाए।

कार्यक्रममा अन्य वक्ताहरूले भारतीय पर्यटकहरूमाथि हुने अनावश्यक चेकजाँचले नकारात्मक सन्देश जाने भन्दै सचेत रहनुपर्ने बताए। साथै, पर्यटनको नाममा हुने गलत क्रियाकलापहरूप्रति सजग रहन सबैलाई आग्रह गरे।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन