जिम्बावे — देशमा जंगली हात्तीहरूको अत्यधिक संख्याले पारिस्थितिक सन्तुलनमा असर पारेको भन्दै जिम्बावे सरकारले दर्जनौं हात्ती मार्ने निर्णय गरेको छ। त्यसरी मारिएका हात्तीहरूको मासु स्थानीय समुदायमा वितरण गरिनेछ भने दाँतहरू सरकारी स्वामित्वमा राखिनेछन्।
जिम्बावेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन प्राधिकरण (ZimParks) का अनुसार, यो कार्यक्रम दक्षिण–पूर्वी जिम्बाबेको सेभ भ्याली कन्जरभेन्सी क्षेत्रमा लागू हुनेछ। प्रारम्भिक चरणमा करिब ५० हात्ती मारिने योजना छ।
सन् २०२४ मा गरिएको एक हवाई सर्वेक्षणअनुसार, उक्त क्षेत्रको वहन क्षमता करिब ८ सय हात्ती मात्रै हो, तर हाल त्यहाँ २५५० हात्ती छन्। पाँच वर्षको अवधिमा २ सय हात्तीलाई अन्य क्षेत्रहरूमा सारिएको भए पनि समस्याको दीर्घकालीन समाधान नभएपछि अन्तिम विकल्पका रूपमा हत्या गर्नुपर्ने अवस्था आएको बताइएको छ।
ZimParks का प्रवक्ता तिनाशे फरावोले यो कदमलाई ‘हत्या’ नभई “व्यवस्थापन अभ्यास” भनेका छन्। उनका अनुसार, हात्ती सामूहिक रूपमा मारिने छैनन् र सुरुवातमा थोरै संख्यामा मात्रै यो प्रक्रिया अघि बढाइनेछ।
हात्तीका दाँतहरू अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण बिक्री गर्न नपाइने भएकाले ती सरकारी सम्पत्तिका रूपमा भण्डारण गरिनेछन्। हात्तीको मासु भने नजिकका गाउँ तथा समुदायहरूमा बाँडिनेछ।
जिम्बावे विश्वमै बोत्स्वानापछि सबैभन्दा धेरै हात्ती भएको देश हो। अधिकारीहरूले मर्ने हात्तीहरूको ‘सम्मानजनक’ व्यवस्थापन गरिने पनि बताएका छन्।

















