काठमाडौँ, २ असार — इरानले इजरायलका दुई मुख्य सहर — तेल अवीव र हाइफामा सोमबार बिहान मिसाइल आक्रमण गरेको छ। हमलामा कम्तीमा ८ जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएका छन्।
अलजजिरा र रोयटर्सका अनुसार, इरानी मिसाइलहरूले आवासीय क्षेत्र, विद्युतगृह र अमेरिकी दूतावास नजिकको क्षेत्रमा क्षति पुर्याएको छ। मिसाइल आक्रमणपछि हाइफामा आगलागीसमेत भएको छ।
इरानले नयाँ प्रविधिको मिसाइल प्रयोग गरेको दाबी गर्दै इजरायलको शक्तिशाली प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ असफल भएको उल्लेख गरेको छ। यसैबीच, इजरायली सरकारले तेहरानले आक्रमणको मूल्य चुकाउने चेतावनी दिएको छ।
इरानले आक्रमणमा नयाँ रणनीति अपनाएको बताउँदै इजरायली रक्षा मन्त्रीले इरानी सर्वोच्च नेता खामेनीलाई ‘घमण्डी तानाशाह’ र ‘कायर हत्यारा’ भनेका छन्। इरानतर्फ इजरायली आक्रमणमा २ सयभन्दा बढीको मृत्यु भइसकेको छ।
इजरायल–इरानबीचको यो चर्किएको द्वन्द्वले सम्पूर्ण मध्यपूर्वलाई तनावपूर्ण बनाएको र आगामी जी–सेभेन सम्मेलनमा समेत यो विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ।

















