काठमाडौं, २ असार — नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट सोमबारदेखि बजारमा चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नयाँ नोट वितरण थालेको हो। बैंकका अनुसार कुल ३४ करोड थान १० रुपैयाँका नोट बजारमा ल्याइएको छ, जसको कुल मूल्य ३ अर्ब ४० करोड रुपैयाँ बराबर छ।
राष्ट्र बैंकले नयाँ नोटहरू पहिलेकै साइज र रङमा छापेको छ। यी नोटहरूको संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म तय गरिएको भए पनि अहिले बजारमा अधिकतम ८००००० नम्बरसम्मका नोटहरू मात्र आएको जानकारी दिइएको छ।
नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँपट्टि लालीगुराँसको पानी छाप छ। गभर्नरको हस्ताक्षर रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। तल्लो भागमा नेपालीमा “वि.सं. २०८१” उल्लेख गरिएको छ।
नोटको पछाडिको भागमा माथिल्लो केन्द्रमा अंग्रेजीमा “Nepal Rastra Bank” लेखिएको छ भने बीचमा कृष्णसारको चित्र छ। त्यस्तै तल्लो भागमा अंग्रेजीमा “Rupees Ten” लेखिएको छ र सन् २०२४ को संकेतस्वरूप “2024 A.D.” उल्लेख गरिएको छ।
यस किसिमको नयाँ नोटको वितरणले बजारमा साना दरका नोटहरूको आपूर्ति सहज बनाउने अपेक्षा गरिएको छ। साथै, नयाँ नोटहरूमा सुरक्षात्मक विशेषता यथावत् रहेको बैंकले जनाएको छ।

















