बुटवल — एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाबाट ९१ रनको झिनो लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा जम्मा ९० रनमै अलआउट भएको हो।
मलेसियाका लागि मोहम्मद फतुलले सबैभन्दा धेरै ३८ रन बनाए भने कप्तान डिज पार्तोले १० रनमा योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुना पनि सकेनन्। नेपालका बलरमध्ये अभय यादवले ४ विकेट लिए, शुभम खनालले ३ विकेट तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए।
नेपाल यस प्रतियोगिताको समूह ‘ए’ को विजेता हो भने मलेसिया समूह ‘बी’ बाट उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणमा नेपालले चारै खेलमा जित हासिल गरेको थियो भने मलेसियाले चारमध्ये तीन खेलमा जित निकालेको थियो।
गत संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए, जहाँ नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको थियो।
यस पटकको सेमिफाइनल विजेताले उपाधिका लागि हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको हो, जसमा नेपालसहित १० राष्ट्र सहभागी छन्। दुई समूहमा विभाजित प्रतियोगिताको फाइनल यही असार २१ गते (जुलाई ५) हुने तय गरिएको छ।








