१० भदौ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरेका छन् ।

आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताए । ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी’ उनले अगाडि भने, ‘म त शब्द पनि सुन्न चाहन्न ।’

त्यसपछि उनले अरु दलसँग तुलना गरे । ‘के सानो पार्टी, मजदुर किसान पार्टीभन्दा सानो छ ? मोहनबिक्रमजीको पार्टीभन्दा सानो छ, मोहन वैद्यको पार्टी भन्दा सानो छ ? विप्लवजीहरुको पार्टी भन्दा सानो छ ?’ नेपालले नेताहरुलाई प्रश्न गरे ।

हिजो आफूहरु भएको एमाले जत्रो मात्र नभएको उनले बताए । तर सानो भन्ने हिनाताबोध गरेर पार्टी नबन्ने भन्दै अध्यक्ष नेपालले भने, ‘पुष्पलालले त्यही गीत गाउनुभएको भए के हुन्थ्यो हालत ? हामीले कोके (कोअर्डिनेशन केन्द्र) बनाउँदा त्यही गीत गाएको भए के हुन्थ्यो हालत ?’

कोअर्डिनेशन केन्द्र (कोके) बनाउने समयमा आयोजित पहिलो बैठकमा झलनाथ खनाल, सीपी मैनाली र आफू मात्र भएको स्मरण गरे । उनले भने, ‘८ महिना सारेर बैठक गर्दा ८ जना ल्याउने भन्दा ६ जना भयौं ।’

हरेक पार्टी निर्माणको इतिहास कोर्दा आत्तिनुपर्ने केही नभएको नेपालले बताए । ‘अरु ठूला भनिएका पार्टीका नेताहरु हामीलाई भन्छन्, यो पार्टीलाई बलियो बनाउनुस्, हाम्रो सद्भाव छ’, उनले भने, ‘यसअर्थमा हामीले हिनताबोध गर्न आवश्यक छैन ।’

हिजो बिद्रोह गरेर ठीक गरेको भन्दै निराशाको गीत नगाउन आग्रह गरे । पार्टी छाडेर गएकाहरुको मात्र हिसाब नगर्न र आउनेहरुलाई पनि हेर्न उनले आग्रह गरे । अध्यक्ष नेपालले भने, ‘म संकेत मात्र गर्न चाहन्छु, अहिले ठूलो जमात विद्रोह गरेर आउने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0