२७ असोज, काठमाडौं । आइतबार राति नेपाल धितोपत्र बोर्ड पुगेको लगानीकर्ताको एक समूहसमक्ष बोर्डले ९ बुँदे प्रतिवद्धता जनाएको छ ।
यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार कार्यदलले दिएका सुझाव बोर्डले कार्यान्वयन नगरेको भन्दै दवाव दिन लगानीकर्ताको समूह धितोपत्र बोर्ड पुगेको थियो । बोर्ड सञ्चालक समिति सदस्यहरूले नै ९ वटा बुँदामा प्रतिवद्धता जनाएको लगानीकर्ता तिलक कोइरालाले जानकारी दिए ।
जसअनुसार कात्तिक मसान्तभित्र धितोपत्र ब्रोकरमार्फत मार्जिन कारोबार कार्यान्वयन गर्ने, कात्तिक मसान्तभित्र सीडीएस एण्ड क्लियरिङबाट प्रदान गरिने आइजिन सम्बन्धमा एकरुपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागु गर्ने प्रतिवद्धता बोर्डले जनाएको छ ।
संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था तत्कालै लागु गर्ने, ब्रोकर कम्पनीले लगानीकर्तालाई सेयर बेचेको रकम समयमै भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सिर्जित दायित्व तथा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्ने प्रतिवद्धता बोर्डले जनाएको छ । मंसिर १५ भित्र उक्त व्यवस्था लागु गर्ने बोर्डले जनाएको छ ।
कात्तिक १५ गतेभित्रै लगानीकर्ताले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न सक्नेगरी व्यवस्था गर्ने प्रतिवद्धता बोर्डले जनाएको छ । तुरुन्तै गर्ने काममा नेप्सेले गर्ने कम्पनीको वर्गीकरणलाई वस्तुनिष्ठ बनाउने, लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने, पूँजी बजार सम्बन्धी साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने, धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमै प्रभावकारी ढंगले सम्पन्न गर्ने प्रतिवद्धता बोर्डले गरेको छ ।

















