११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ वटाको अधिवेशन गरेर निर्वाचित समिति गठन गरेको छ ।
कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको छ ।
पालिका अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रागिरीमा जनार्दन केसी, नार्गाजुनमा राजन कोइराला, तारकेश्वरमा विनोद चापागाईं, टोखामा सूर्यप्रसाद काफ्ले, बूढानीलकण्ठमा चिरञ्जीवी पाण्डे, गोकर्णेश्वरमा भागवत सापकोटा, कागेश्वरी मनोहरा राजकुमार न्यौपाने र दक्षिणकालीमा उमेश आचार्य छन् ।
रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टका अनुसार, अधिवेशन सकिएका दुई पालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको थियो भने अन्य छ वटामा निर्वाचन भएको थियो । काठमाडौं सभापति विष्टका अनुसार टोखा र तारकेश्वर सर्वसम्मत नेतृत्व चयन भएको छ ।
अधिवेशन हुन बाँकी रहेकाहरूमा काठमाडौँ महानगरपालिका सहित शंखरापुर र किर्तीपुर नगरपालिका छन् । काठमाडौं महानगरको अधिवेशन जेठ १८ गते तोकिएको छ भने शंखरापुरको जेठ १३ र कीर्तिपुरको जेठ १४ गतेका लागि तोकिएको छ ।
काठमाडौं महानगरको २६ नम्बर वडा बाहेक सबैमा अधिवेशन सकिएको महाननगरका सभापति शशि पन्तले जानकारी गराए । वडा नम्बर २६ को अधिवेशन जेठ १४ गतेका लागि बोलाइएको छ ।
काठमाडौं जिल्लाको अधिवेशनको मिति बारे छलफल गर्न आज जिल्ला समितिको बैठक बसेको थियो । बैठकले जेठ २३ गते अधिवेशन गर्ने गरी केन्द्र र प्रदेशलाई सिफारिस गरेको छ । जिल्ला अध्यक्ष विष्टले भने, ‘हामीले जेठ २३ गते प्रस्ताव गर्ने निर्णय गरेका छौं । २३ र २४ जेठ मध्ये एउटामा हुन्छ । जहाँसम्म २३ जेठमै जिल्लाको अधिवेशन हुन्छ ।’

















