विज्ञापन

कंगोमा ‘नेपाल प्रवर्द्धन साँझ’ : व्यापार, पर्यटन र लगानी विस्तारमा जोड

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । दक्षिण अफ्रिकास्थित नेपाली दूतावास (कंगोका लागि समेत समवर्ती मान्यता प्राप्त) र एनआरएनए राष्ट्रिय समन्वय परिषद् कंगोको आयोजनामा ‘नेपाल प्रवर्द्धन साँझ : व्यापार, पर्यटन तथा लगानी अवसर’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका लुबुम्बाशी र किन्शासामा १५ देखि १९ मेसम्म सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत विभिन्न कूटनीतिक, व्यावसायिक तथा औपचारिक भेटघाट गरिएको थियो ।

एनआरएनए एनसीसी कंगोका अध्यक्ष विष्णु गिरीका अनुसार कार्यक्रमका क्रममा कार्यवाहक राजदूत रमेशकुमार चम्राकारले कंगोका सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न खानी तथा औद्योगिक कम्पनीहरूको भ्रमण गरेका थिए । भ्रमणका क्रममा सम्बन्धित कम्पनीका अध्यक्ष तथा उच्च व्यवस्थापनसँग औपचारिक छलफलसमेत गरिएको जनाइएको छ ।

यसै क्रममा सोमिका समूहअन्तर्गत सञ्चालित उद्योग तथा खानी क्षेत्रको अवलोकन गरिएको थियो। भ्रमणका अवसरमा सोमिका माइनिङ कम्पनीका अध्यक्ष तथा व्यवस्थापन टोलीसँग नेपाली कामदारहरूको सुरक्षा, कार्य वातावरण, श्रम व्यवस्थापन तथा आपसी सहकार्यका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

छलफलका क्रममा नेपाल सरकारले लगानीका लागि आवश्यक वातावरण तथा नीतिगत सहजीकरण गरेमा आफूहरू नेपालमा लगानी गर्न इच्छुक रहेको धारणा कम्पनी पक्षले व्यक्त गरेको जनाइएको छ ।

भेटघाटका क्रममा कंगोमा कार्यरत नेपालीहरूको अवस्था, रोजगारीका अवसर, सुरक्षा चुनौती, बसोबासका समस्या तथा कानुनी–प्रशासनिक प्रक्रियासम्बन्धी विषयमा समेत छलफल भएको थियो।

साथै नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूका बारेमा जानकारी आदानप्रदान गर्नुका साथै नेपाली श्रमिकहरूको वर्तमान अवस्था, आवश्यकता र सुधारका सम्भावनाबारे प्रत्यक्ष जानकारी लिने काम गरिएको बताइएको छ ।

कार्यवाहक राजदूत रमेश कुमार चम्राकार नेपाल सरकारको तर्फबाट प्रजातान्त्रिक गणतन्त्र कंगोमा यस प्रकारको विस्तृत फिल्ड भ्रमण, उद्योग अवलोकन तथा उच्चस्तरीय औपचारिक भेटघाट गर्ने पहिलो नेपाली सरकारी प्रतिनिधि हुन् ।

यो कार्यक्रमले नेपाल र कंगोबीच व्यापार, पर्यटन, लगानी, वैदेशिक रोजगारी तथा श्रम कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको एनआरएनएका अध्यक्ष गरीले बताए ।

साथै कंगोमा रहेका नेपाली समुदायका समस्या र सम्भावनालाई नेपाल सरकारसमक्ष प्रभावकारी रूपमा उठान गर्ने वातावरण बनेको उनको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन