विज्ञापन

मधेश प्रदेशको आर्थिक कारोबार अझै अनौपचारिक क्षेत्रमा केन्द्रित

विज्ञापन
Image
विज्ञापन

११ जेठ, काठमाडौं । मधेश प्रदेशमा हुने धेरै आर्थिक कारोबार अझै अनौपचारिक क्षेत्रमा केन्द्रित रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

खुला सीमाका कारण हुने अवैध व्यापार, न्यून गुणस्तरका आयातित वस्तु तथा अनौपचारिक कारोबारको समस्या सामाधान गर्नुपर्ने अध्ययनले औंल्याएको छ । करको दायरा विस्तार, व्यवसाय दर्ता तथा डिजिटल कारोबार प्रवद्र्धन गर्न आवश्यक रहेको अध्ययनले औंल्याएको हो ।

संघ, प्रदेश तथा स्थानीय तहबीच नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा समन्वय गरेर मधेश प्रदेशको अर्थतन्त्रमा सुधार गर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ तथा आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ र ६१.८१ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको (३४.९७ प्रतिशत) तथा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको (०.१४ प्रतिशत) रहने अनुमान छ । आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको प्रतिव्यक्ति गार्हस्थ उत्पादन अमेरिकी डलरमा ९३४ हुने अनुमान रहेको छ ।

चालु आवको सो अवधिमा मधेश प्रदेशमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल ४५.२४ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल १०.४९ प्रतिशत र फलफूल तथा मसला बालीले ओगटेको क्षेत्रफल ५.१५ प्रतिशत घटेको केन्द्रीय बैंकले जनाएको छ । चालु आवको सो अवधिमा तरकारी तथा बागवानी उत्पादन ५.२३ प्रतिशत र फलफूल तथा मसलाको उत्पादन २३.८९ प्रतिशत वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीको उत्पादन १८.१३ प्रतिशत कमी आएको छ ।

चालु आवको पुससम्ममा पशुजन्य उत्पादनतर्फ दूध, मासु र अण्डाको उत्पादन क्रमशः ११.०६ प्रतिशत, ३३.९८ प्रतिशत र २३.४६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, माछाको उत्पादन ८.०३ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादन अन्तर्गत काठको उत्पादन १०.०९ प्रतिशत र दाउराको उत्पादन ३०.८० प्रतिशतले वृद्धि भएको छ ।

२०८२ पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६० अर्ब ९७ करोड कर्जा प्रवाह भएको छ, जुन मधेश प्रदेशमा प्रवाहित कुल कर्जाको १२.१९ प्रतिशत हुन आउँदछ ।

चालु आवको पुससम्ममा उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा २९.७६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा २.६७ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २५ अर्ब १३ करोड रहेको थियो ।

चालु आव पुससम्म घरजग्गा रजिष्ट्रेसन संख्या ४८ हजार ९ सय १० रहेको छ भने घर जग्गा रजिस्ट्रेसन राजस्व २ अर्ब २ करोड संकलन भएको छ । २०८२ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन गरेको निक्षेप २०.९० प्रतिशतले वृद्धि भई ४ खर्ब २७ अर्ब २७ करोड पुगेको छ । कर्जा प्रवाह भने २.३९ प्रतिशतले वृद्धि भइ ५ खर्ब ७ करोड कायम भएकोछ ।

चालु आवको पुसम्ममा मधेश प्रदेशमा कुल सरकारी/सामुदायिक अस्पतालको संख्या २५ प्रतिशत, चिकित्सकको संख्या १६.६७ प्रतिशत र शैया संख्या ६.८५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी समीक्षा अवधिमा निजी अस्पतालको संख्या ४.७६ प्रतिशत, चिकित्सकको संख्या १५.०२ प्रतिशत र शैयाको संख्या ६.१७ प्रतिशतले वृद्धि भएकोछ ।

मधेश प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनकै चरणमा छन् ।

ती आयोजनामध्ये हुलाकी सडक मार्ग निर्माणको गति तुलनात्मक रुपमा तीव्र रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ५ सय २० रहेको छ । यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २२.३२ प्रतिशत हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन