१३ जेठ, काठमाडौं । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा विद्यार्थीको संख्या कम हुँदै गएको देखाइएको छ ।
२०८२ मा १३ हजार ७ सय ३६ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । १० हजार ८६९ विद्यालयमा १०० देखि ५०० सम्म विद्यार्थी छन् । १ हजार ६७० विद्यालयमा ५०१ देखि १००० सम्म विद्यार्थी छन् ।
४६७ वटा विद्यालयमा १००१ देखि १५०० सम्म विद्यार्थी छन् । १४० वटा विद्यालयमा १५०१ देखि २००० सम्म विद्यार्थी छन् । १२८ वटा विद्यालयमा २००० भन्दा बढी विद्यार्थी छन् ।
सर्वेक्षणमा कुल सामुदायिक विद्यालयमध्ये एक सयभन्दा कम विद्यार्थी भएका विद्यालय ५०.८५ प्रतिशत रहेका छन् । २ हजारभन्दा बढी विद्यार्थी भएका विद्यालय ०.४७ प्रतिशत रहेका छन् ।
‘शहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ। विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई नक्साङ्कन गरी समायोजन गर्दै लगिएको छ,’ सर्वेक्षणमा भनिएको छ ।
देशभर सामुदायिक विद्यालयको संख्या २७ हजार १० वटा रहेको छ । गत वर्ष २०८१ मा २७ हजार २९८ वटा सामुदायिक विद्यालय थियो । समायोजनका कारण विद्यालयको संख्या घटेको उल्लेख गरिएको छ ।
संस्थागत विद्यालयको हिस्सा बढ्दो क्रममा रहेको छ । शैक्षिक सत्र २०८२ मा कुल विद्यालयमध्ये सामुदायिक विद्यालय ७१.२७ प्रतिशत, संस्थागत विद्यालय २४.८७ प्रतिशत र परम्परागत/धार्मिक विद्यालय ३.८६ प्रतिशत रहेका छन् ।
गत शैक्षिक सत्रमा उक्त सङ्ख्या क्रमश: ७३.० प्रतिशत, २३.० प्रतिशत र ४.० प्रतिशत रहेको थियो। २०८२ मा सामुदायिक विद्यालयको संख्या २७ हजार १० र संस्थागतको ८ हजार ९४१ गरी ३५ हजार ९५१ वटा विद्यालय रहेका छन् ।















