काठमाडौँ । बिहीबार सरकारले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
सरुवा सूचीअनुसार अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवलाई अन्य निकायमा पठाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयबाट नयाँ सहसचिवहरू अर्थ मन्त्रालयमा ल्याइएको छ।
निर्णयअनुसार अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारी राष्ट्रपतिको कार्यालय र गजेन्द्रकुमार ठाकुर उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्य पनि अर्थ मन्त्रालयमा सरुवा भएका छन्।
त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
मन्त्रिपरिषद्ले प्रदेश सचिवहरूको जिम्मेवारीमा समेत परिवर्तन गरेको छ। निर्णयअनुसार परराष्ट्र मन्त्रालयका विन्देश्वरप्रसाद लेखकलाई मधेश प्रदेशको प्रदेश सचिवमा, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेशको प्रदेश सचिवमा तथा भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।
सरकारले प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी, उत्तरदायी र कार्यसम्पादनमुखी बनाउने उद्देश्यका साथ विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेश तहमा जिम्मेवारी पुनःवितरण गरेको जनाएको छ। 

















