प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। उनले सुरक्षाघेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको गतिविधि बढ्दै गएको आरोप लगाउँदै देशमा भय र त्रासको वातावरण सिर्जना भइरहेको बताएका छन्।
मंगलबार संसद बैठकमा बोल्दै राईले सरकार निरंकुश बन्दै गएको र सत्ताउन्मादका कारण सांसदहरूको बोल्ने स्वतन्त्रता समेत प्रभावित भएको दाबी गरे। उनले सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको जस्तो अवस्था रहेको टिप्पणी गरे।
राईले मुगुका गणेश नेपाली प्रकरण, सुकुम्बासी होल्डिङ सेन्टरमा नागरिकलाई धम्क्याइएको घटना तथा गाडी तेर्स्याउने विषयमा सरकार र सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने माग गरे। सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै उनले यस्ता घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए।
सरकारको शैलीलाई हिरण्यकश्यपसँग तुलना गर्दै राईले लोकतन्त्रमा प्रश्न उठाउने अधिकार कुनै पनि हालतमा दबाउन नसकिने स्पष्ट पारे। संसदमा उठेका विषयमा सत्य तथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही गर्न उनले सरकारसँग माग गरेका छन्।

















