२ मंसिर, गुल्मी । पश्चिम गुल्मीका कृषक धान भित्र्याउन थ्रेसर मेसिनको प्रयोग गर्न थालेका छन् । गाउँमा कृषि मजदुरको अभाव बढ्दै गएपछि धान झाट्ने र भित्र्याउने काममा आधुनिक उपकरणको प्रयोग बढ्न थालेको हो ।
कुनै समय गोरुले खेत जोत्ने र मानिसको सहायताले धान झाट्ने चलन सामान्य थियो । अहिले खेतीपातीका काममा आधुनिक मेसिनको प्रयोग विस्तार हुँदै गएको छ ।
इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषक यतिबेला धान भित्र्याउन व्यस्त छन् । खेतमा पाकेको धान काट्न खेताला नपाउने समस्या बढ्दै गएपछि उनीहरूले थ्रेसर मेसिनलाई विकल्पका रूपमा प्रयोग गर्न थालेका छन् ।
स्थानीय कृषक छन्दबहादुर कुँवरले यस वर्ष आफ्नो सबै धान थ्रेसर मेसिनबाट भित्र्याएका छन् । अघिल्लो वर्षसम्म परम्परागत तरिकाले धान झाट्ने गरेका उनले यस वर्ष मेसिन प्रयोग गरेका हुन् ।
उनका अनुसार गाउँमा खेताला पाउन मुस्किल हुँदै गएको छ । खेताला खोज्दै हिँड्नुपर्ने र धेरै दिनसम्म धान खेतमै राख्नुपर्ने बाध्यता थ्रेसरको प्रयोगले हटाएको छ ।
थ्रेसर मेसिन प्रयोग गरेबापत प्रतिघण्टा चार हजार रुपैयाँ खर्च लाग्छ । खर्च केही बढी भए पनि समय र जनशक्ति बचत हुने भएकाले कृषकले यसलाई उपयोगी मानेका छन् ।
अर्का कृषक प्रकाश केसीले पनि थ्रेसरको प्रयोगले धान भित्र्याउन सहज भएको बताए । गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएकाले आधुनिक उपकरणको प्रयोग आवश्यक बन्दै गएको उनको भनाइ छ ।
तर, कृषकको आवश्यकताअनुसार आधुनिक कृषि उपकरणको पहुँच पर्याप्त छैन । कृषि ज्ञान केन्द्रले साना कृषि उपकरण तथा यान्त्रिकीकरणका क्षेत्रमा सहयोग गर्दै आए पनि ठूला मेसिनमा कृषकको पहुँच बढाउन थप पहल आवश्यक रहेको कृषक बताउँछन् ।
कृषक पदम खत्रीले ठूला कृषि उपकरणमा पनि अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने बताए । साना तथा मझौला कृषकले व्यक्तिगत रूपमा महँगा मेसिन खरिद गर्न नसक्ने भएकाले सहकारी, कृषक समूह र स्थानीय तहको साझेदारीमा यस्ता उपकरण सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।
जिल्लामा यतिबेला धान भित्र्याउने काम भइरहेकाले धान उत्पादनको तथ्यांक संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष धान भित्र्याउने समयमा आएको हावाहुरीसहितको असिना पानीले विभिन्न स्थानमा पाक्न लागेको धानबालीमा क्षतिसमेत पुर्याएको छ ।













