२ मंसिर, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन् ।
काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा उनले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताएका हुन् ।
मन्त्री लम्सालले अब कुनैपनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारे । उनकाअनुसार प्याकेज नम्बर ९ ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन । पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिशद्धताअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।
काठमाडौंस्थित आयोजनाको प्रारम्भिक बिन्दुमा रहेका केही समस्या पनि छिट्टै समाधान गरिने बताए । ती समस्या समाधान भएपछि रद्ध गरिने ठेक्कासँगै बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने उनको भनाइ छ ।
मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणमा देखिएका चुनौतीबारे आम नागरिक तथा सञ्चारकर्मीलाई पर्याप्त जानकारी नभएको पनि बताए । आयोजना सुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानूनी व्यवस्था नै नरहेको अवस्थामा पनि नेपाली सेनाले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको उनको भनाइ छ ।
फास्ट ट्र्याकमा हालै भएको सुरुङमार्गको ब्रेक थ्रुलाई महत्वपूर्ण उपलब्धिका रूपमा बताउँदै उनले उक्त सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ भएको बताए ।
उनले फास्ट ट्र्याकलाई सडक निर्माणमा मात्र सिमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए । आयोजनामा काम गरिरहेका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिक जनशक्ति भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि देशकै महत्वपूर्ण सम्पत्ति बन्ने उनको भनाइ छ ।
मन्त्री लम्सालले भने, ‘केही ठेक्काहरू, जस्तै प्याकेज ९ए, ९बी, ८बी लगायतका केही प्याकेजहरूको कार्यसम्पादन राम्रो छैन । संशोधित कार्यतालिकाअनुसार पनि सन्तोषजनक कार्यसम्पादन गर्न नसकेका र आफैँले पेश गरेको संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीहरूको ठेक्का तत्काल रद्द गरौँ । हामी त्यस्ता ठेक्का रद्ध गर्नेछौँ ।’
मन्त्री लम्सालले आगामी दिनमा यस्तै प्रकृतिका ठूला पूर्वाधार आयोजना सञ्चालन गर्ने सरकारको तयारी रहेको उल्लेख गर्दै त्यसमा नेपाली सेनाको भुमिका थप विस्तार गरिने बताए ।
विपद्का बेला नेपाली सेनाले देखाउनुभएको तदारुकता, कार्यक्षमता तथा छोटो समयमै बेली ब्रिज निर्माण गर्न देखाउनुभएको सीपको पनि उनले प्रशंसा गरे । सरकारले फास्ट ट्र्याकलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित कमजोर कार्यसम्पादन भएका निर्माण कम्पनीमाथि कडाइ गर्ने र बाँकी कामलाई तिब्रता दिने नीति लिएको मन्त्री लम्सालले बताए ।
















