१७ भदौ, काठमाडौं । साउनको अन्तिम कारोबार दिन ३००० अंक पुगेको सेयर बजार दुई साता (अघिल्लो दिन)सम्म उच्च अंकले घट्दै २६९५ मा झर्‍यो । अर्थात् उच्च विन्दुबाट बजार १०.१ प्रतिशतसम्म झर्‍यो । १०.१ प्रतिशतको गिरावटले लगानीकर्तामा डर समेत उत्पन्न भएको थियो, कतिपयले भने करेक्सनका रुपमा बुझ्दै खरिद गरिरहेका थिए ।

तर सोमबार एकै दिन बजार ४.७२ प्रतिशत अर्थात् १२७ अंक बढ्यो । सोमबार एक दिनको वृद्धिले विगत तीन दिनको गिरावटलाई पछाडि पार्‍यो । बजार उच्च दरमा बढ्दा कारोबार रकममा समेत सुधार देखिएको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । बजार ३००० अंकमा पुग्दा दैनिक कारोबार रकम २९ अर्ब ९५ करोडसम्म पुगेको थियो ।

आजको वृद्धिले लगानीकर्ता तथा कारोबारीमा हौसला बढेको छ । अघिल्लो दिनसम्म खरिद गर्न डराएका कारोबारी यस दिन आक्रामक बने, जसले बजारको वृद्धिदर उच्च रहन गयो ।

सोमबारको वृद्धिलाई लिएर कतिपयले एक चरणको करेक्सन सकिएको रुपमा लिएका छन् भने कतिपयले यसलाई सानो ‘बाउन्स’का रुपमा बुझेका छन् । यदि बजारले एक चरणको करेक्सन सकाएको हो भने आगामी दिनमा वृद्धिको क्रममा निरन्तरता हुनेछ । तर सानो बाउन्स मात्रै हो भने थप घट्न सक्नेछ ।

तर बजारको आजको वृद्धिलाई अधिकांश लगानीकर्ताले भने करेक्सन सकिएको रुपमा बुझेका छन् । ‘बजारमा एउटा चरणको करेक्सन सकिएको हो’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने ‘बजारमा यति ठूलो करेक्सन आउनुको पछाडि एक मात्रै कारण थियो, त्यो हो नेप्से २ हजारबाट विनाकरेक्सन बढेर ३ हजार पुग्नु ।’

करिब दुई सातामै बजार १ हजार विन्दुले बढेपछि ३–४ सयसम्मको करेक्सन स्वभाविक रहेको उनले बताए । ‘बजारको सुन्दर पक्ष नै कहिले बढ्नु, कहिले घट्नु हो । बजार लगातार बढिरहँदैन, लगातार घटिरहँदैन’ उनले भने ‘त्यसकारण नयाँ कारोबारी वा लगानीकर्ता बजार घट्दा आत्तिने र बढ्दा मात्तिनु हुँदैन ।’

प्राविधिक रुपमा बजारलाई विश्लेषण गर्दै आएका सुवासचन्द्र ढुंगाना आजको क्यान्डिलस्टिकले करेक्सन सकिएजस्तो संकेत दिएको तर यसलाई नै सुनिश्चित भनेर बुझ्न नमिल्ने बताउँछन् । ‘करेक्सन सकिएको संकेत दिएको हो, तर कन्फर्मेसनका लागि कम्तीमा भोलिको बजार पनि हेर्नुपर्छ’ उनले भने ‘भोलि बजार २८ सयभन्दा माथि नै अडिन सक्यो वा गिरावट आजको वृद्धिको ५० प्रतिशतभन्दा ठूलो देखिएन भने बजारमा करेक्सन सकिएको रुपमा बुझ्न सकिन्छ ।’

करेक्सन सकिनलाई कारोबार रकम पनि बढ्नुपर्ने उनको भनाइ छ । बजारमा कारोबार रकम अझै बढ्न सक्ने अनुमान छ । बजार बढ्दै जाँदा कारोबार रकम बढ्नुले खरिद पक्ष आक्रामक बनेको जनाउँछ भने बिक्रेताले पनि नाफा बुक गर्दै बेचेको जनाउँछ । जसले गर्दा कारोबार रकमले समग्र सूचकलाई मूल्यांकन गर्न र सोअनुसार कारोबारीलाई रणनीति बनाउन मद्दत गर्छ ।

सोमबारको बजार डिमान्ड जोनबाटै फर्किकाले करेक्सन सकिएको अनुमान रहेको उनले बताए । ‘२८२० माथि बजार रहनुले केही पोजेटिभ संकेत देखाएको छ, तर एकदिनको चार्टलाई मात्रै हेरेर पुग्दैन’ उनले भने ।

प्राविधिक सूचक बोलिंगर ब्यान्डअनुसार बजार तल्लो रेखाभन्दा माथिबाटै सपोर्ट पाएको छ । तर आजको वृद्धिले मध्यरेखा तोडेको छैन । बोलिंगरमा तल्लो रेखाले २६३६ अंकमा सपोर्ट देखाएको थियो आज बजार इन्ट्राडेमा पनि २६७९ भन्दा तल झर्न सकेन । त्यस्तै अघिल्लो दिन ४८ मा झरेको आरएसआई (रिलेटिभ स्ट्रेन्थ इन्डेक्स) सोमबार बढेर ५६ मा पुगेको छ ।

बजारमा यतिबेला ब्याजदर, लगानीयोग्य रकमजस्ता सैद्धान्तिक पक्ष मजबुत रहेकाले डराउनुपर्ने अवस्था नरहेको ढकाल बताउँछन् । ‘हाल बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा दिँदा पनि अन्य क्षेत्रमा जान सकिरहेको छैन’ ढकालले भने ‘आजसम्म सेयरमा गएको कर्जा डिफल्ट नभएकाले यो क्षेत्रमा बैंकको कर्जा आउनेछ ।’

राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जाको सीमा हटाएपछि बैंकहरुमा सेयर कर्जाको माग बढेको छ । एकातिर ब्याजदर न्यून रहनु र अर्कोतर्फ अन्य क्षेत्रमा कर्जा जान नसक्नुले बजार वृद्धिमा थप टेवा पुग्ने उनको भनाइ छ ।

बजारमा आत्तिनेहरुले थप गुमाउने जोखिम पनि उत्तिकै रहन्छ । अघिल्ला दिनसम्म सेयर बेच्नेले नै सोमबार पुँजीगत लाभ गुमाएको महसुस गरे । ‘बढ्दो बजारमा आत्तिने र मात्तिने दुवैले कमाउन सक्दैनन्, धैर्य गरेर राम्रा कम्पनीमा लगानी गरे गुमाउनु पर्दैन’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0