काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालिन नेतृत्वले लिनुपर्ने बताएका छन् ।

बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर(विशाल) र मोहनचन्द्र गौतम(कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनयुद्धको क्रममा घाइते, अपाङ्गता भएका हजारौं हजार योद्धाहरूले उपचार नपाएर शारीरिक र मानसिक पीडा भोगिरहेका बताए । सहिद र वेपत्ता परिवारका सदस्यहरू न्यूनतम जीविकोपार्जनको व्यवस्था नहुँदा विदेश पलायन हुनु परिरहेको भन्दै उनले देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको पनि यथोचित सम्मान हुन नसकेको बताए ।

सांसद श्रेष्ठले तत्कालिन माओवादीका नेतृत्व तहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य(किरण) र डा. बाबुराम भट्टराईलाई सम्बोधन गर्दै सबै समस्याहरुको जिम्मा लिनु पर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन् । उनले एकजुट भएर प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? भनेर अर्को प्रश्न नेताहरुलाई तेस्र्याएका छन् ।

सांसद श्रेष्ठले सहिदहरु विशाल र कुमारलगायत हजारौं सहिदहरूका सहादतबाट देशमा २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । उनले जनयुद्ध लडेका क्रान्तिकारी नेता, कार्यकर्ताहरू छिन्नभिन्न हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्नसक्ने खतरा बढ्दै गइरहेको बताए । प्राप्त उपलब्धिको जगमा टेकेर मात्रै बाँकी उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाइ छ ।

यसै सन्दर्भमा बागमती प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले आफु मन्त्री छँदा सहिदहरूको सम्मान र सम्झनामा प्रदेशभर योजनाहरु पारेको जानकारी दिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0