२५ भदौ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १० रामनगरमा सडकको बीच भागमा रोपिएका बिरुवा एक व्यक्तिले काटिदिएका छन् । बिरुवा काटेर भागेका उनको खोजी भइरहेको छ ।

वडा अध्यक्ष गौरा कुमारी अधिकारीले स्थानीय लिला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् ।

‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका छन्,’ वडाध्यक्ष अधिकारीले भनिन् ।

गाई बाँध्न नदिएको झोंकमा काटिदिएको आरोप

वडाध्यक्ष अधिकारीका अनुसार लिला भुसालले सडकको बीच भागका ती रुखमा गाई बाँध्ने गर्दथे । सोमबार दिउँसो नगर प्रहरीले गाईको दाम्लो काटिदिएको थियो । त्यसैको झोंकमा भुसालले सोमबार राति रुख काटिदिएको वडाध्यक्ष अधिकारीले बताइन् ।

‘सीसीटीभी फुटेजमा छोराले रुख काटिरहेको र आमाले घरबाट हेरिरहेको देखिन्छ,’ उनले भनिन्, ‘गाई बाँध्न नदिएको रिस पोखेछन् ।’

उनले पाँच वटा रुख काटिएको अवस्थामा रहेको र एउटा आरीले काट्दाकाट्दै छोडेको देखिएको जानकारी दिइन् ।

आज बिहान नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र प्रहरीहरुले रुख काटिएको स्थानको अवलोकन गरेका थिए । ‘रुख काट्ने व्यक्तिको भाग्नु भयो । घरमा जाँदा उहाँ हुनुहुन्नथ्यो,’ वडाध्यक्ष अधिकारीले भनिन्, ‘उहाँको भाइले दाइलाई उपस्थित गराउने भन्नु भएको छ ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0