विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्धको तयारी गर्ने प्रक्रियामा लागेको दाबी गरेका छन् ।

झापाको बिर्तामोडको सिटी सेन्टरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थितिबारे मन्तव्य दिँदै विश्व अहिले शीतयुद्धको अवस्थामा रहेको दाबी गरे ।

‘विश्वमा नयाँ शीतयुद्ध चलिसकेको देखिन्छ । त्यो कुनै न कुनै बेला विस्फोट हुने अवस्था छ । तर, त्यो शीतयुद्धको केन्द्र नेपाल हुने हो कि भन्ने ठुलो सम्भावना छ । यो गम्भीरताको साथ मैले तपाईँलाई भनेको छु,’ प्रचण्डले भने, ‘भूराजनीतिक अवस्थितिको कारणले विश्व शक्तिहरुबाट नेपालमा टेकेर चीनमा घेरा हाल्ने वा नेपाललाई रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी गर्ने प्रक्रिया चलिरहेको छ ।’

नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले अप्ठ्यारो ठाउँमा आएको उनले बताए । ‘विश्वशक्ति राष्ट्रहरूले नेपालमा बढीभन्दा बढी सैनिक चलखेल गराउने प्रयासमा छन्,’ उनले भने । प्रचण्डले अहिले विश्व युद्ध भए पनि भारत र रुसको एउटा एलायन्स हुने परिदृश्य देखिँदै गएको विश्लेषण गरे । ‘श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशको प्रभाव भारतमा पनि देखिँदै छ । किनकि नरेन्द्र मोदीको नारा नै थियो अबकी बार ४ सौ पार, तर त्यस्तो भएन,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘त्यो हुनुमा पश्चिमी मिडिया मोदीका विरुद्ध खनिएका थिए । त्यसको परिणाम असर परेको हो भन्ने देखिँदै छ ।’

प्रचण्डले नेपालमा त्यसखालको परिदृश्य आए नेपाल राष्ट्र बचाउने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, नेपाल र नेपालीलाई एकीकृत गर्ने विचार, शक्ति र नेता माओवादीमा मात्रै रहेको दाबी गरे । ‘हाम्रो पार्टीको रक्षाको निम्ति मात्रै होइन यो देशमा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको संविधान र देशको अस्तित्व रक्षाको लागि पनि अझ बढी माओवादीहरू एकताबद्ध र सङ्गठित हुनुपर्दछ,’ उनले भने ।

आउने दिन नेपालको राजनीति यही तरिकाले नचल्ने बताउँदै उनले एकाथरि सामन्तीतन्त्र, निरङ्कुशतन्त्र तिर लान खोजिरहेको, एकथरि ०४७ सालतिर लानेहरू पनि रहेको बताए । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले यो संविधान च्यातियोस् भन्ने चाहना राख्ने पनि उनले दाबी गरे । ‘हामी भ्रममा पर्न हुँदैन । खासगरि एमाले नेतृत्वको गुट, एमालेको प्रमुख नेताकै यो संविधान कतिबेला च्यात्ने भन्ने भन्दा अर्को दिमाग देखिन,’ प्रचण्डले भने ।

१० लाख जनता उतार्ने चेतावनी

२०८४ सालको चुनावमा माओवादीले ६४ सालको भन्दा माथि जाने उनले दाबी गरे । ‘हाम्रो पार्टी सरकारबाट बाहिर जाँदा सिंहजस्तो गर्जिएर हिँड्यो । देशव्यापी हिँडिरहेको छ । तर, सरकारमा जानेहरू थरथर काम्दै गएका छन्,’ प्रचण्डले भने, ‘उनीहरूको सातो गएको छ । सुरुमा त दुई तिहाइले जे पनि गर्न सक्छौँ भने । संविधान संशोधनको कुरा पनि गरे ।’

प्रचण्डले आफूले दुई दल मिलेर संविधान संशोधनको कुरा गरेर देशलाई प्रतिगमन तिर जाने जालसाजी भएको भनेर संसदमा भनेको स्मरण गर्दै त्यसबेला उनीहरूलाई बङ्गलादेशमा हेरे हुन्छ भनेको बताए ।

‘मैले बङ्गलादेश बनाउँछु भनेको होइन । जनताको पक्षमा काम नगर्ने, जनता र राष्ट्रको विरुद्धमा काम गर्नेहरूले बङ्गलादेश हेरे हुन्छ भनेको हुँ,’ प्रचण्डले भने, ‘प्रचण्डले बङ्गलादेश बनाइदिन्छु भनेर कहिले पनि भनेको छैन । बङ्गलादेश हेर । तिमीहरूको दुई तिहाइ काम लाग्ने छैन । राष्ट्र र जनताको विरुद्धमा जाने छुट तिमीहरूलाई छैन ।’

केपी शर्मा ओलीले हिजो प्रधानमन्त्री हुँदा संसद् विघटन गरेर संविधान च्यात्ने कोसिस गरेको र त्यसबेला १ महिनामा ४ लाख मानिस काठमाडौँमा उतारिएको दाबी गर्दै प्रचण्डले भने, ‘अब पनि जरुरी पर्‍यो भने १० लाख मानिस काठमाडौँमा उतार्न सकिन्छ । षड्यन्त्र सफल हुन दिइँदैन ।’

माओवादीलाई अवसर आएको बताउँदै उनले भने, ‘जनतातिर फर्किने, सदन र सडकबाट पहल लिने बेला आएको छ ।’ प्रचण्डले आफू जीवनको उत्तरार्द्धतिर भए पनि जोस बढिरहेको सुनाए । ‘हुन त म जीवनको उत्तरार्धतिर गएको छु । तर, मलाई त्यस्तो लागेको छैन । मलाई जनयुद्धकै तयारी गरेजस्तो लागिरहेको छ । समाजवादी क्रान्तिको तयारी गरेजस्तो जोस आइरहेको छ । यस्तो जोस कसरी आयो होला ? मलाई अलिक अनौठो पनि लागिरहेको छ,’ उनले भने ।

अबका केही कार्यक्रमहरू सकिएपछि फेरि जनतालाई अपिल गर्न पूर्वपश्चिम महाअभियान लिएर आउने प्रचण्डले बताए । ‘जनतातिर फर्किएको माओवादी, अधिकारको लागि लड्ने माओवादी जनताले पनि हेर्न चाहेका छन् । सरकारबाट हटेको अवस्था भए पनि माओवादीप्रति सकारात्मक लहर चल्न थालेको छ । जनताले माओवादी सच्चिन थालेको भन्ने सन्देश गएको छ,’ प्रचण्डले भने ।

कार्यक्रमको अवसरमा झापाका लोकबन्धु कन्दङ्वासहित सयौं अन्य पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी कार्यकर्ताको प्रवेशपछि हौसिएका प्रचण्डले माओवादीको नयाँ विजय अभियान सुरु भएको घोषणा गरे । ‘बिचमा हामी सत्ता समीकरणका कारण आफ्नो विचार, कार्यशैली धमिलिँदै गएको थियो । यसले क्रान्तिकारी, सहिद परिवार, घाइते, अपाङ्गता, हिजोको जनमुक्ति सेना र जनतामा निराशा पैदा भइरहेको थियो,’ प्रचण्डले भने ।

उनले पार्टीलाई पुनःसंगठित गर्ने, जनतासँग जोड्ने उपाय अपर्याप्त भइरहेको बेला तेस्रो पटक सरकारको नेतृत्व गर्दा सुशासन र सामाजिक न्याय, आर्थिक समृद्धि र विकासका काम गरेपछि नयाँ उपाय र आशा पलाएको बताए ।

झापाको बिर्तामोडमा आएर गिरिबन्धु टिस्टेटको ५१ बिगा जग्गा हेरेको र उक्त काण्डमा काँग्रेस एमालेकै संलग्नता भएको प्रचण्डले आशय व्यक्त गरे । ‘मलाई थाहा छ काँग्रेस र एमालेले एक अर्कालाई काँग्रेसले खायो भन्ने र एमालेले खायो भनेर भन्ने गरेको सुनेका हौँ । दुवै पार्टी अहिले मिलेर बसेका छन् । यसलाई के बुझ्ने ?,’ उनले भने । प्रचण्डले झापा हिजो पनि विद्रोहको प्रतीक भएको । आज पनि विद्रोहको प्रतीक रहेको र भोली पनि
विद्रोहको प्रतीक हुने दाबी गरे ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0