दुई–दुई वर्षमा हुनुपर्ने अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन यतिबेला एक वर्ष ढिला गरी असोज २ गते काठमाडौँमा हुने भनिएको छ, तर सम्मेलनको मुखमा खास तयारी देखिँदैन । विद्यार्थीको राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुन्छ वा हुँदैन भन्ने विषयमा रातोपाटीले अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता जीपी मैनालीसँग कुराकानी गरेको छ ।

भोलि हुने राष्ट्रिय सम्मेलनको तयारीको काम कति सकियो ?
हामी लगभग अन्तिममा आइपुगेका छौँ, तर थोरै समय अभाव हुने देखिएको छ । केही प्रदेशमा सम्मलेनका बन्द सत्रहरू चलिरहेका छन् । केही प्रक्रियामै छन् । समय अभावका कारण मधेससहित देशका केही जिल्ला तथा महत्त्वपूर्ण कलेजहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया टुङ्गिसकेको छैन, तर हामी हरहालतमा पार्टीले दिएको निर्देशन पालना गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै छौँ ।

यो हाम्रो संगठनकी अध्यक्ष पञ्चा सिंह मात्रैको संकल्प होइन, हामी सबैको संकल्प हो । पार्टीले यो सम्मेलनलाई कति महत्त्व दिएको छ भने उसले आफ्नो केन्द्रीय समितिको बैठक नै यही सम्मेलनलाई मध्यनजर गरेर पर सारेको छ । यसर्थ यो अध्यक्ष प्रचण्डको पनि संकल्प हो । यो अखिल (क्रान्तिकारी)मा जोडिएका दशौँ लाख कार्यकर्ताको चाहना र संकल्प हो । त्यसैले थप केही समय आवश्यक हुने भएको छ, तर अब यो सम्मेलन रोकिँदैन ।

के संगठनको विवादले गर्दा राष्ट्रिय सम्मेलन सर्न लागेको हो ?
हाम्रो संगठनले यो कार्यकालमा सबैभन्दा बढी तिक्ततापूर्ण समय गुजार्‍यो । यसैबिच समानान्तर कमिटीसम्मको अभ्यास भयो, तर आजका दिनमा यो संगठन, इतिहासमै सबैभन्दा बढी एकताबद्ध छ । तपाईंसँग यो कुराकानी गर्दै गर्दा म भर्खर कैलालीबाट आएर झोला बिसाउँदै छु र लगत्तै संगठनकै काममा मधेस जानु छ ।

साथीहरू आ–आफ्नो जिम्मेवारीमा फर्किएर काम गर्न थालेको पनि ६ महिनाभन्दा धेरै भइसक्यो । मैले माथि नै भनेँ, सम्मेलनका लागि केही समय अपुग हुने देखिएको छ । विद्यार्थीको परीक्षाका कारण पनि यसको मिति सार्नेबारे छलफल सुरु भएको छ, तर सम्मेलन टरेको छैन ।

संसारभर कम्पन पैदा गरेको आन्दोलन र तपाईंको नेतृत्वमाथि बारम्बार प्रश्न उठिरहेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
जुन आन्दोलनमा जनताको आशा, भरोसा, प्रेम र बलिदान जोडिएको हुन्छ, उसैको नेतृत्वसँग जनताले आशा, अपेक्षा गरेका हुन्छन्, उसैमाथि प्रश्न उठ्ने गर्छ, तर तपाईंले भने जस्तो माओवादी आन्दोलन आजका दिन बदनाम, रक्षात्मक वा टुहुरो भइसकेको छैन । यो आन्दोलन रक्षात्मक र निम्छरो हुन्थ्यो भने त्यसले कुनै बहस र कम्पन पैदा गर्न सक्ने सामथ्र्य राख्दैनथ्यो, तर नेपाली समाजमा कम्पन पैदा गर्ने शक्ति भनेकै माओवादी हो । बितेको तीन दशकदेखि माओवादी यो देशको परिवर्तनको खास नेतृत्वकर्ता हो ।

आफ्नै संगठनको हकमा भन्ने हो भने अखिल (क्रान्तिकारी) माथि यतिबेला इतिहासमै सबैभन्दा ठुलो आक्रमण भइरहेको छ । चरी र घैँटे ल्याएर संगठन चलाउनेहरूले अखिल (क्रान्तिकारी) का नेताहरूलाई ‘दलाल र तस्कर’ भनी आरोप लगाइरहेका छन्, जुन कदापि स्वीकार योग्य छैन । उनीहरू र हाम्राबिचको भिन्नता के हो भने उनीहरू मनाङ्गे उत्पादन गर्छन्, हामी बेनोज अधिकारी र लेखनाथ, हिमाल उत्पादन गर्छौं ।

मनाङ्गे र चरी संस्कारबाट हुर्किएका अन्य संगठनका विद्यार्थी नेताहरू हामीलाई व्यक्ति हत्याको आरोप लगाइरहेका छन्, जुन आफैँमा ठट्टा सिवाय केही होइन । समय क्रममा ती सबै झुटा आरोप थिए भन्ने साबित भएको छ, साबित हुँदै छन् । यो फोहोरको पोखरीमा चुर्लुम्म डुबेर किनारामा उभिएको व्यक्तिको पिठ्युँमा छिटा देखाएजस्तो हो । उनीहरू त फोहोरको ढलमा छन् । उनीहरूले हामीतर्फ ताकेर बोल्ने हैसियत पनि राख्दैनन् ।

तपाईंले आफूलाई अध्यक्षको दाबेदारका रूपमा प्रस्तुत गरेको देखिँदैन तपाईं दाबेदार हो वा होइन ?
निःसन्देह म अध्यक्षको दाबेदार हुँ । एकाइ कमिटीको अध्यक्षदेखि यो संगठनका सबै पदमा बसेर काम गरेको अनुभव छ मेरो । १८औँ राष्ट्रिय सम्मेलनमा हिमाल शर्माको नेतृत्वमा बनेको कमिटीमा केन्द्रीय सदस्य भएँ । अध्यक्ष रमेश मल्ल र नरेन्द्र न्योपानेको कार्यकालमा सचिव भएर काम गरेको छु । ०६५ सालमा हिमाल शर्मा त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति हुँदा म त्यसै वर्ष काठमाडौँ इन्जिनियरिङ कलेजमा सभापति निर्वाचित भएँ । अहिले उपाध्यक्ष हुनुअघि रञ्जित तामाङको कार्यकालमा उपमहासचिव र प्रवक्ता भएर पाँच वर्ष काम गरेको छु । भन्नुको अर्थ केन्द्रीय समितिमै १६ वर्षदेखि काम गरिरहेको छु ।

म तपाईंलाई के भन्न चाहन्छु भने हाम्रो संगठनमा एउटा परम्परा र इतिहास छ । अखिल (क्रान्तिकारी) त्यही इतिहास र परम्पराले अन्य भन्दा भिन्न संगठन हो । संगठनमा मैले यति वर्ष लगानी गरेँ, त्यसैले मलाई फलानो पद चाहियो भनेर यहाँ कसैले भन्दैन । यो संगठनमा अझै पनि दाजु गुमाएका भाइहरू छन् । तपाईं कल्पना गर्न सक्नुहुन्छ— काखमा रहेको बच्चाले यो आन्दोलनमा आफ्नो आमा र बुबा दुवै गुमाएको छ, तर उनीहरू अतिरिक्त माग नगरी संगठनमा सबैसरह पालो कुरेर बसिरहेका छन् । उनीहरूका बिचमा कोही एउटा व्यक्तिले म मात्र अध्यक्षको दाबेदार हुँ, म मात्र योग्य हुँ र मैले मात्र संगठन हाँक्न सक्छु भन्नु संगठनको इतिहास र परम्परा कुल्चनु हो ।

अझै मैले त के भन्ने गरेको छु भने आफ्ना आमाबुबा गुमाएका सहिदका छोराछोरीलाई यो संगठनको नेतृत्व हस्तान्तरण गरौँ । उनीहरूलाई जति यो संगठनको माया कसैलाई छैन । मलाई लाग्छ, उनीहरूले जति यो आन्दोलन र त्यसको नेतृत्वलाई कसैले पनि सहयोग गर्न सक्दैन । किनभने उनीहरूका लागि यो आन्दोलन र पार्टी नै सबै थोक हो । त्यसैले म यो संगठनको एउटा कार्यकर्ता हुँ । निःसन्देह अध्यक्षको स्वाभाविक दाबेदार हुँ । त्यसैले यो संगठनको इतिहास र परम्परा जोगाउने जिम्मेवारी मेरो हो ।

माओवादी आन्दोलन ओरालो लाग्यो भन्ने टिप्पणीबिच सम्मलेनले पार्टी र संगठनलाई उर्जा देला त ?
मुलुकको राजनीति आज नयाँ ठाउँमा पुगेको छ । प्रत्येक सेकेन्ड बदलिरहेको दुनियामा समयले हामीलाई नयाँ परिस्थितिबीच उभ्याई दिएको छ । माओवादीले मात्रै होइन बदलिएको परिस्थितिसँग जुध्न सक्ने ल्याकत भएन भने जुनसुकै दल डाइनासोरजस्तो लोप हुन बेर लाग्दैन । जनवर्गीय संगठनका हकमा पनि त्यही हो ।

त्यसैले हामी कक्षा कोठामा अध्ययन गरिरहेको, समयको पदचापलाई पहिल्याउन सक्ने यो आन्दोलनको इमान्दार कान्छो पुस्तालाई संगठनको बागडोर जिम्मा लगाउन चाहन्छौँ । यस्तो हुँदा अवश्य पनि त्यसले पार्टीमा र संगठनमा नयाँ ऊर्जा थप्ने काम गर्छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0