काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयहरूको गुणस्तर सुधारका विषयमा छलफल गरेकी छन् । विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षा, सम्बन्धन लगायतका विषयमा सरोकारवालासँग छलफल गरेकी हुन् ।

छलफलको क्रममा उनले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षा लगायतको योजना समेट्न अनुरोध गरिन् ।विश्वविद्यालयलाई गुणस्तरका दृष्टिले प्राज्ञिक स्थल बनाउनुपर्नेमा उनको जोड थियो । नेपालका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न विशिष्टीकृत योजना बनाउनुपर्ने उनले बताइन् ।

अन्तरक्रियामा सुदूरपश्चिम विश्वविद्यालयसँग आङ्गिक क्याम्पसको व्यवस्थापन, मर्जिङ र सम्बन्धन, योगदान र योग्यताका आधारमा सामाजिक सुरक्षा, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवम् विश्वविद्यालय, अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि त्रैमासिक प्रतिवेदन तयारी गर्ने विषयमा छलफल भएको थियो ।

त्यसै गरी नेपाल संस्कृत विश्वविद्यालयसँगको अन्तरक्रियामा शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, महत्त्वपूर्ण पुस्तकको डिजिटाइजेसन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एकीकरण एवम् आयुर्वेद र स्थापत्य कला विषयको सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन गर्ने विषयमा छलफल भएको थियो ।

त्रिभुवन विश्वविद्यालयसँगको अन्तरक्रियामा परीक्षा र प्रश्नपत्रमा सुधार, शैक्षिक क्यालेन्डरका आधारमा शिक्षण सिकाई तथा परीक्षा सञ्चालन, विश्वविद्यालयको पुनः संरचना, पाठ्यक्रम संरचना पुनरावलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको डिजिटाइजेसन र विश्वविद्यालयलाई विद्यार्थी र समाजको समुदायको नजिक पुर्‍याउने विषयमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालयहरूको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनमा कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा मन्त्रालयले छलफल थालेको छ । सोही क्रममा आज (आइतबार) त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयसँग छलफल गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका उपकुलपति र पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका डीनहरू, मन्त्रालयका सचिव तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0